News

 चितवन, जेठ २ –
राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसका अवसरमा जिल्ला कमिटी चितवनले खाद्यान्न वितरण तथा मदन आश्रित पार्क दासढुंगामा सरसफाइ गरेको छ ।

संघले भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको मञ्जुश्री आश्रय संरक्षण केन्द्रमा खाद्यान्न हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल चितवनका अध्यक्ष झलकराज भट्टले आश्रयकी उपाध्यक्ष धनु थापा मगरलाई खाद्यान्न सामग्री हस्तान्तरण गरे ।

सामग्री प्राप्त गरेपछि आश्रयकी उपाध्यक्ष धनु थापा मगरले राष्ट्रिय युवा संघ नेपाल चितवनलाई धन्यवाद दिँदै युवासंघको प्रसंशा गरिन् ।

हस्तान्तरण कार्यक्रममा नकपा एमाले चितवनका उपाध्यक्ष कमल पाठक, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरे, नेकपा एमाले चितवनका उपसचिव एवम् प्रचार विभाग प्रमुख प्रकाश ढुंगाना, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज शंकर अधिकारी, युवा संघ पालिका कामिटीका पदाधिकारी एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी सोही दिन संघले मदन आश्रित स्मृति पार्कमा सरसफाइ गरेको छ । ३१ औं मदन आश्रित स्मृति दिवसका दिन यही जेठ ३ गते नेकपा एमाले चितवनले दासढुंगाको मदन आश्रित स्मृति पार्कमा स्मृति सभा गर्दैछ । सो कार्यक्रमको पूर्व सन्ध्यामा युवा संघले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा सरसफाइ गरेको हो ।

चितवन जेठ २ ।
क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले गरेको फैसला पूर्ण रुपमा उल्टिएको बताउंदै पराजुलीले भने, ‘सन्दीप लामिछानेले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’ जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको राय किताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने बताए । ‘जिल्ला अदालतमा जस्तो फैसलाको संक्षिप्त आदेश भएन, अब यसबारेको विस्तृत विवरण पूर्णपाठ आएपछि मात्रै थाहा होला’, पराजुलीले भने । ५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित (गौशाला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् । बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् ।

उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गर्‍यो । २० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले २९ पुसमा २० लाख धरौटीमा छाड्यो ।

त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले । जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् । लामो सुनुवाइ प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतले १३ पुस २०८० मा सन्दीपलाई दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिर राज ढकालको इजलासले पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट सन्दीप दोषी देखिएको निष्कर्ष निकालेको थियो ।

नगरकोट गएकोदेखि सिनामंगलको होटलमा एउटै कोठामा बसेको स्वीकार गरेका सन्दीपले बलात्कार आरोप भने अस्वीकार गरेका थिए । पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा उनी र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतिको भन्न नमिल्ने निष्कर्ष निकालेको थियो । यद्यपि न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका थिए । घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै उनले नाबालिका बलात्कार भने स्वीकार गरेन । आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि, तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने माग दाबी थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई ८ वर्ष जेल सजाय सुनायो । पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीपले हालेको पुनरावेदनमा उच्च अदालतले उनलाई सफाइ दिएको छ । साथै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फकुवा गरेको हो । निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

चितवन जेठ २ । 
नवलपरासी ( बर्दघाट सुस्तापूर्व) को जिल्ला निर्देशक समितिका सदस्यहरुलाई महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी अभिमुखिकरण गरिएको छ । सो प्रस्ताव कार्यान्वयनका लागि तीन वर्षे दोस्रो राष्ट्रिय कार्ययोजना २०७९ सालमा निर्माण गरिएको थियो । द्वन्द्वबाट पीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि पहिलो पटक नवलपुरमा अभिमुखीकरण गरिएको हो । जिल्ला समन्वय समिति नवलपरासी ( बर्दघाट सुस्तापूर्व) को आयोजना एवं विजय विकास स्रोत केन्द्रको सहयोगमा कावासोतीमा अभिमुखीकरण गरिएको हो । कार्यक्रममा द स्टोरी किचनका अध्यक्ष जया लुइँटेलले कार्ययोजनाबारे अभिमुखीकरण गर्दै द्वन्द्वबाट पीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि पालिका स्तरमा गठन हुने आवश्यकता पहिचान उप समितिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । कार्ययोजनाले द्वन्द्वबाट पीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता सम्बोधन गर्दै उनीहरुको सरोकारका विषयमा अर्थपूर्ण सहभागिता एवं आत्म सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको बताउनुभयो । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाका अन्तर्वस्तु जिल्ला निर्देशक समिति तथा पालिका स्तरका उप समितिको भूमिकाबारे प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा जिल्ला निर्देशक समिति संयोजक एवं जिल्ला समन्वय समिति नवलपरासी ( बर्दघाट सुस्तापूर्व) का प्रमुख बाबुराम विश्वकर्माले द्वन्द्व प्रभावितहरुको अधिकार स्थापित गर्न स्थानीय पालिकाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले यस विषयमा अन्तर पालिका बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्ने समेत बताउनुभयो । देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले शसस्त्र द्वन्द्व लगायतको आन्दोलन र जनताकै त्यागका कारण गणतन्त्र स्थापना भएको स्मरण गराउँदै अहिले जनप्रतिनिधिका रुपमा आफुहरु स्थापित भएको र यो कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउनुभयो । तर कार्यक्रम सञ्चालन गर्न स्थानीय तहमा स्रोत व्यवस्थापनका लागि प्रदेश तथा केन्द्र तहबाट पहल हुनुपर्ने बताउनुभयो ।
गैँडाकोट नगर उप प्रमुख शान्ति न्यौपानेले २०५२ सालदेखी २०६३ साल सम्म भएको सशस्त्र द्वन्द्वका क्रममा महिला र बालबालिका यौन हिंसामा परेका कयन उदाहरण रहेको उल्लेख गर्दै उनीहरुलाई समाजमा स्थापित गर्न आफुहरु अग्रसर रहेको बताउनुभयो । पालिका तहमा गठन गर्नुपर्ने उप समित गठन गरी अघि बढेको बताउँदै उनीहरुको भावनामा लागेको चोट निको पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जिल्लामा अहिले पनि सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको एकिन विवरण एवं तथ्याङ्क जिल्लामा प्राप्त हुन नसकेको बताउँदै त्यस्को खोजी भइरहेको बताउनुभयो । दोस्रो राष्ट्रिय कार्ययोजना तीनै तहको सरकारको बजेट निर्माणको सम्मुखमा समेत भएकोले पालिकाहरुले बजेट छुट्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लाका सबै पालिकाहरुमा समेत उप समिति गठन गरी जानकारी गराउन आग्रह गर्नुभयो ।
विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत सम्बोधन गरिएकोले राज्य र विद्रोही दुवैपक्षका द्वन्द्व प्रभावितहरुले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । देशभर नै पहिलो पटक जिल्लामा अभिमुखिकरण गराउन पाउँदा खुसी व्यक्त गर्नुभयो ।
द्वन्द्व पिडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले जिल्लामा अहिलेसम्म पनि एकिन तथ्याङ्क नरहेको र अझैपनि पीडित महिलाहरुले न्याय पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले स्मारक निर्माण लगायत पीडितको पक्षमा गर्नुपर्ने कामबारे विभिन्न माग राख्नुभएको थियो ।
नेकपा ( माओवादी केन्द्र) नवलपुरका संयोजक कृष्णप्रसाद शर्माले नवलपुरमा बसाइँसरी आउने द्वन्द्व प्रभावित रहेको हुँदा उनीहरुको विवरण तयार गरी कार्यक्रम गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका उप प्रमुख शकुन्तला लम्सालले स्वागत गर्नुभएको सो कार्यक्रममा पालिका प्रमुख, उपप्रमुख, सुरक्षा संयन्त्रका प्रमुख प्रतिनिधि लगायत निर्देशक समितिका सदस्य उपस्थित थिए । जिल्ला समन्वय समितिका शाखा अधिकृत सुरेन्द्र प्रसाद बस्यालले कार्यक्रम सञ्चालनको सहजिकरण गर्नुभएको थियो । यसअघि जिल्लामा ३२ सदस्यीय जिल्ला निर्देशक समिति गठन गरिएको थियो । पालिका स्तरमा एकमात्र पालिका गैँडाकोट नगरपालिकामा कार्ययोजना कार्यान्वयन स्थानीय समित र आवश्यकता पहिचान उप समिति गठन भइसकेको छ ।
द्वन्द्व पिडित महिलाको आवश्यकता पहिचानका लागि नवलपुरमा युरोपियन युनियनको आर्थिक सहयोगमा द स्टोरी किचनको नेतृत्व र विजय विकास केन्द्रको सहजीकरणमा न्यायका लागि साहस ३।० कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
सरकारले नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गरिने उल्लेख गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुँदा नम्बर १९३ र १९४ मा यस विषयलाई सम्बोधन गर्नुभएको थियो ।
बुँदा १९३ मा ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गरिनेछ । शान्ति प्रक्रिया र द्वन्द्व रूपान्तरणका क्रममा भएका सहमति, समझदारी एवम् सम्झौताको एकीकृत अभिलेख तयार गरिनेछ । जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनका घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्न र समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिने छ ।’ भनी उल्लेख गरिएको छ ।
त्यस्तै बुँदा १९४ मा ‘सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवननिर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारका अवसर र आर्थिक सहायता उपलब्ध गराई पुनस्थापना र परिपूरण लगायतका कार्य गर्न शान्ति कोषको व्यवस्था गरिनेछ । राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरूलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइनेछ । द्वन्द्वका क्रममा अपाङ्ग भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशतलाई पुनरावलोकन तथा पुनर्निर्धारण गरी औषधोपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालका रूपमा तोकिनेछ ।’ भनिएको छ ।

Subcategories