News


चितवन, असोज १९ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गर्नुभयो ।
भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने उहाँको भनाई थियो । भरतपुरमा विगत ७ वर्षमा अर्बौका खानेपानीका आयोजना निर्माण सम्पन्न भईसकेको र यस वर्ष पनि विभिन्न स्थानमा नयाँ आयोजना निर्माण गरिने प्रमुख दाहालले बताउनुभयो । महानगरले चालु आर्थिक वर्षमा विपन्न नागरिकले धारा जडान कार्य गर्न रु ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो । भरतपुर वडा नम्बर १० मा रहेको मुख्य कार्यालयको पुरानो भवन भत्काई सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । पुरानो भवन तत्कालिन नेपाल खानेपानी संस्थान भरतपुर शाखाको लागि निर्माण गरेको थियो । बोर्डले वर्षेनी आफ्ना क्षेत्र र उपभोक्ताको संख्या विस्तार गर्दै भएपनि जिर्ण भवनबाटै सेवा दिदै आएको थियो । बोर्डका निमित्त कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार भवन ३ तले बन्ने छ । भवन ५ हजार २ सय ९९ वर्ग फिटमा बन्ने छ । भवन निर्माण गर्न रु २ करोड ८० लाख ४१ हजार बोलपत्र आह्वान गरिएको थियो । भवन निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन बानेश्वरले रु २ करोड १८ लाख ७५ हजार ५२४ मा पाएको हो । २०८१ भदौ १६ गते सम्झौता मितिले १८ महिनाभित्र निर्माण सम्पन्नु गर्नुपर्ने उल्लेख छ । नयाँ भवन निर्माण भएपछि फरक क्षमता भएका सेवाग्राहीलाई सहज हुने बताइएको छ । यसअघि साघुरो र जिर्ण भवनबाट सहज सेवा दिन समस्या हुँदै आएको निर्देशक बरालले बताउनुभयो । बोर्डका हाल ४० हजार भन्दा बढी सेवाग्राही छन् ।

चितवन, असोज १७ । पूर्वी चितवनको रत्ननगरस्थित बछौलीमा १ करोड रुपैयाँको लागतमा युआर अटोमेटिक लन्ड्री सेवा सुरु गर्न लागेको छ । भोलि शुक्रबार एक औपचारिक कार्यक्रमका बीच लन्ड्री सञ्चालन आउन लागेको कम्पनीले जनाएको छ । मुख्य कार्यालय बाराको सिमरामा रहेको कम्पनीले चितवनमा शाखा विस्तार गरेको हो । अत्याधुनिक मेशिनको प्रयोग गरी कुनै पनि प्रकारको लुगाको सुरक्षित धुलाई गर्ने कम्पनीले जनाएको छ । दुबईको फुजेरामा १० वर्ष लन्ड्रीको काम गरी स्वेदेश फर्किएर बाराका उमेश चौलागाईले युआर अटोमेटिक लन्ड्री सुरु गर्नुभएको थियो । भरतपुर, टाँडी, पर्सा लगायतका स्थानमा कलेक्सन कार्यालय राखी बछौलीमा उद्योगमार्फत कपडा धुने काम गरिने कम्पनीका प्रोपाईटर चौलागाईले बताउनुभयो ।कम्पनीले उपभोक्तालाई गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर अघि बढेको उहाँको भनाई छ । कम्पनीले नेपालका अन्य १० सहरमा शाखा विस्तार गर्ने लक्ष्यसहित चितवनमा पनि शाखा विस्तार गरिएको हो । कम्पनीको लागत १ करोड रुपैयाँ बढी भइसकेको छ । थप नयाँ मेशिनहरु आउने क्रम जारी रहेकाले लागत बढ्ने उहाँले बताउनुभयो । अहिले एउटा मेशिनले १ सय ५० केजी लुगा एक पटकमा धुने गर्दछ । अहिले ८ ठुला र प्रर्याप्त साना वासिङ मेशिनबाट कुशन, कोर्ट, पाईन्ट, दौरा सुरुवाल, सितारा जडित साडी, कुता, लेदर ज्याकेट, तन्ना स्विटर कार्पेट, ब्लाङकेट धुलाई गरी स्टिम आइरन पनि गरिने कम्पनीले जनाएको छ । कम्पनीले अहिले ३१ जनालाई रोजगारी प्रदान गरेको छ । २४ सै घण्टा धुलाईको सेवा दिने कम्पनीले आधा घण्टामा कपडा लगाउन मिल्ने गरी उपलब्ध गराउन सक्छ ।

असोज १७, चितवन ।
चितवनका गीतकार विज्ञानलाल श्रेष्ठको शब्दले सजिएको ‘चाहना’ गीतको म्युजिक भिडियो घटस्थापनाको अवसर पारेर १७ गते शुक्रबार साँझ गीतकार स्वयंको युटुब  Bigyan Lal Shrestha बाट रिलिज भएको छ । मायाप्रीतिको गाथाले भरिएका शब्दहरूलाई अष्ट्रेलियामा रहेका सङ्गीतकार शिरिष बिक्रम थापाले सङ्गीत दिएका छन् भने उक्त गीतमा गायिका सदा श्रेष्ठको स्वर रहेको छ । अष्ट्रेलियामा रेकर्ड गरिएको सो गीतमा सङ्गीतकार शिरिष बिक्रम थापाको आफ्नै सङ्गीत संयोजन रहेको छ भने सङ्गीतकार थापाले रेकर्डसमेत आफ्नो स्टुडियोमा गरेका हुन् । नृत्य निर्देशक सुमित लामाको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोको सम्पूर्ण छायाङ्कन चितवन र नवलपुरका विभिन्न रमणीय स्थानहरूमा भएको हो । म्यूजिक भिडियोमा पहिलो पटक कलाकारद्वय समिता बराली र श्रवण श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको निर्माण सुवानलाल श्रेष्ठले गरेका हुन् ।

Subcategories