पौष १२, चितवन । चितवनको पर्यटकिय नगरी सौराहामा आयोजना गरिएको १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा गरिएको हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पुनमकलीले जितेको छ । प्रतिस्पर्धी सेल्फीकली, चम्पाकली, पूजाकली र समृद्धिकलीलाई पछि पार्दै ४० वर्षको पुनमकलीले हात्ती सुन्दरीको ताज पहिरिएको हो । होटल श्रीनगर पाल्पाको प्रतिनिधित्व गर्दै होटल पार्क साइडको पुनमकलीले उपाधि जिताएको हो ।

हात्तीको श्रृङ्गार र सजावट, गोडाको नङ, आँखाको चमक, कान र सुँडको सरसफाइको अवस्था, माउतेले हतियार प्रयोग गरेरनगरेको, हात्तीको सोझोपना तथा चालको आधार, फुर्तिलोपना एवं आदेश पालना र हात्तीको शारीरिक बनावटलाई आधार बनाएर सुन्दरी छान्ने गरिएको निर्णायक समितिका संयोजक नगेन्द्र चापागाईंले बताउनु भयो।
महोत्सवअन्तर्गत सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हात्तीको स्वास्थ्य परीक्षण गरी जुकाको औषधि खुवाउनुका साथै नङको सतहसमेत मिलाइएको पशु चिकित्सक डा. अमिर सडौलाले जानकारी दिनु भयो ।




