पौष १२, चितवन । चितवनको पर्यटकिय नगरी सौराहामा आयोजना गरिएको १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शनिबार राप्ती नदीमा डुङ्गा रेस प्रतियोगिता गरिएको छ । सौराहाको डुङ्गाघाटदेखि गाईघाटसम्म ५ किलोमिटरको दूरीमा गरिएको प्रतियोगितामा कुमरोज मध्यवर्ती सामुदायिक वन प्रथम, रत्ननगर नगरपालिका द्वितीय र बाघमारा मध्यवर्ती सामुदायिक वन तृतीय भएका छन् । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । यसैबीच, तीन वर्षअघिदेखि रोकिएको हात्ती पोलो सुरू गरिएको छ । सौराहा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुको मागलाई ध्यानमा राखी हात्ती पोलो सुरू गरिएको महोत्सवका संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो ।




