साउन १८, चितवन । तस्विर कोमल चन्द्र भगत । चितवनको सौराहामा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएको ६९ औं छावाको नाम रामप्रित गज राखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नामाकरण गरिएको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले यादवले संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप छावाको नामाकरण गरिएको बताउनु भयो ।

यस छावालाई तमोरकलीले साउन ७ गते जन्माएको थियो। तमोरकलीको रामप्रित गज तेस्रो सन्तान हो। प्रजनन् केन्द्रको रेकर्डमा रामप्रित गजको बाबु जंगली हात्ती रोनाल्डो रहेको उल्लेख छ। प्रजनन् केन्द्रमा आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै ५ वटा छावा जन्मिएका थिए। रामप्रित गज यो आर्थिक वर्षमा जन्मिएको पहिलो छावा हो।
प्रजनन् केन्द्रमा अहिले माउ र छावा गरेर २२ वटा हात्तीहरु रहेको केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिनुभयो । ती मध्ये ६ वटाले तालिम पाइसकेका छन्। ७ वटालाई तालिम दिन बाँकी छ। छावा ३ वर्षको भएपछि तालिम दिने गरिन्छ । प्रजनन् केन्द्र सहित निकुञ्जका विभिन्न पोष्टहरुमा गरेर ५८ वटा हात्ती रहेको चौधरीले बताउनु भयो ।




