कार्तिक २६, चितवन । तस्विर : कोमल चन्द्र भगत । चितवनको रत्ननगरमा रहेको प्रदेशस्तरको आयुर्वेद तथा वैकल्पिक चिकिल्सालयमा उपचार गरेका बिरामीको संख्यालाई आधार मान्दा आयुर्वेद उपचार र यसको प्रभावकारिता बढ्दै गएको पाइएको छ ।
बुधबार आयोजना गरिएको आयुर्वेद सेवासम्बन्धी जिल्लास्तरीय समीक्षा गोष्ठीमा कार्यालय प्रमुख डा . कोपिला अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उक्त चिकित्सालयबाट आर्थिक वर्ष २०८१/०८२ मा ७२ हजार ५५१ जना बिरामीले उपचार गराएको उल्लेख गरिएको छ । त्यसमध्ये नयाँ बिरामी ४६ हजार ९२९ छन् भने नियमित उपचार गराइरहेका २५ हजार ६२२ जना रहेको कार्यालय प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।
आर्थिक वर्ष २०८०/ ०८१ मा ६३ हजार ४९४ जना र आर्थिक वर्ष २०७९÷०८० मा ४९ हजार ५१३ जना बिरामीको उपचार गरिएको छ । आर्थिक वर्ष २०८०/ ०८१ मा भन्दा २०८१/ ०८२ मा झन्डै दस हजार बिरामीको संख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा आयुर्वेद तथा वैकल्पिक चिकित्साप्रति जनविश्वास बढ्दै गएको आफूहरुले महसुस गरेको डा.अधिकारीले बताइन् ।
२०८१ / ०८२ मा चिकित्सालयअन्तर्गतका चारवटा नागरिक आरोग्य केन्द्रबाट ११ हजार ५१५ जना, पूर्णकर्म ९आयुर्वेद थेरापी०मा ५४ हनार ४९८, पञ्चकर्ममा ८० जना, शल्यसेवामा ६९३ जना, योगसेवामा ६ हजार २८८, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत १० हजार ७९१, स्तनपायी आमालाई दुग्ध प्रवद्र्धन कार्यक्रमतर्फ १ हजार २७२ जनालाई औषधि वितरण गरिएको छ ।
त्यसैगरी, जीवनशैली प्रवद्र्धन तथा स्वच्छीकृत सेवातर्फ ७ हजार ९२० जना, अकुपञ्चर, कपिङ सेवातर्फ ५ हजार ७५१, ल्याब सेवा १० हजार ४१४, फिजियोथेरापी ५ हजार १३०, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमतर्फ नसर्र्ने रोग ४६४, बाथ पुनर्स्थापना कार्यक्रमतर्फ ५० जनाले सेवा लिएको कार्यालय प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।
२०८० सालमा बागमती प्रदेश सरकारले २५ शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरेको उक्त चिकित्सालयमा विशेषज्ञ सेवाअन्तर्गत शल्यचिकित्सा, बालरोग र पञ्चकर्म सेवा सञ्चालनमा रहेका छन् । उक्त अस्पतालबाट अम्लपित्त, घुँडा खिइने समस्या, श्वासप्रश्वास, बालरोग, पायल्स, फिस्टुलालगायत मलद्वारमा हुने समस्या, उच्च रक्तचाप, मधुमेह, बाथरोग, युरिक एसिड, कम्मर दुख्ने समस्यालगायतका रोगहरुको उपचार गरिँदै आएको अस्पतालका डा. देवेन्द्र यादवले जानकारी दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद औषधि उत्पादन केन्द्रका प्रमुख सुरेश महर्जनले केन्द्रले उत्पादन गरेका आयुर्वेद औषधि चितवनमा २० प्रतिशत र अन्य जिल्लामा ७ प्रतिशतका दरले उपलब्ध गराउँदै आएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले आयुर्वेद चिकित्साप्रति बढ्दै गएको विश्वासलाई कायम राख्नुपर्नेमा जोड दिए । मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्ने सानो प्रयासले सम्भव नरहेको उनले बताए ।
रत्ननगर वडा नं–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुलप्रसाद सापकोटाले आयुर्वेद अस्पतालको स्थायित्वका लागि स्थानीय सरकारले सेवाको गुणस्तर विकासमा सहयोगीको भूमिका खेल्दै आएको भन्दै आयुर्वेद चिकित्सालाई विश्वासिलो बनाउन डाक्टर र स्वास्थ्यकर्मी टिमको प्रयास सामान्य नरहेको बताए ।
कार्यक्रमका प्रमुखअतिथि बागमती प्रदेश सांसद् कृष्णप्रसाद खनालले आयुर्वेद औषधि उत्पादन गर्ने जडीबुटीको गुणस्तर मापन गर्न प्रचलन नरहेको भन्दै नेपालमा उत्पादन भएका जडीबुटी भारत पठाउने र भारतबाट कमसल खालका जडीबुटीको आयात गर्ने काम बन्द हुनुपर्ने बताए ।
नेपालमा उत्पादन भएका गुणस्तरीय जडीबुटीले औषधि उत्पादन गर्न सकियो भने आयुर्वेद चिकित्साप्रति सोच्दै नसोचेको विश्वास बढ्ने उनको भनाइ छ ।




