News

चितवन, सौराहा । तस्विर : कोमल चन्द्र भगत । 
चितवनको पर्यटकीय सहर सौराहामा वृत्ताकार अर्थतन्त्र, जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विषयमा बागमती प्रदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरूलाई लक्षित गरी विशेष संवेदनशीलता तालिम सुरु गरिएको छ। वन्यजन्तु संरक्षण संघ नेपाल (Wildlife Conservation Association Nepal) को आयोजनामा भएको उक्त तालिममा वागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका २२ जना पत्रकारहरू सहभागी छन्।दुई दिने तालिमको उद्देश्य पत्रकारहरूलाई वातावरणीय विषयवस्तुमा अझ सचेत, जानकारीमूलक र संवेदनशील रिपोर्टिङ गर्न प्रेरित गर्नु रहेको छ।

तालिममा वृत्ताकार अर्थतन्त्र — जसले स्रोतको पुनस् प्रयोग, फोहोर न्यूनिकरण र पुनर्चक्रणलाई प्राथमिकता दिन्छ — को सन्दर्भमा नेपालमा लागू गर्न सकिने उपायहरू, जलवायु परिवर्तनको प्रभाव र यसको सन्दर्भमा सञ्चारको भूमिका, साथै दिगो विकास लक्ष्यहरू (SDGs) सँग सम्बन्धित विषयहरू समेटिएका छन्।कार्यक्रम उद्घाटन गर्दै वन्यजन्तु संरक्षण संघ नेपालका कार्यकारी निर्देशक सञ्जीवनी योञ्ञजन श्रेष्ठ ले जलवायु परिवर्तनको बढ्दो प्रभावको सन्दर्भमा सञ्चारकर्मीहरूको भूमिका झनै महत्वपूर्ण हुँदै गएको बताए। “वातावरणीय चुनौतीहरूको समाधानका लागि सूचनाको सही प्रवाह र जनचेतना अभिवृद्धि अनिवार्य छ, र यसका लागि पत्रकारहरू अग्रपंक्तिमा रहनुपर्छ,” उनले भने।

तालिममा वातावरण विज्ञ, पत्रकारिता प्रशिक्षक, तथा नीति निर्माता समेतले विभिन्न सत्र लिइरहेका छन्। सहभागीहरूले क्षेत्रीय उदाहरण, केस स्टडी, तथा व्यावहारिक अभ्यासहरूमार्फत विषयबस्तु बुझ्ने अवसर पाएका छन्। वागमती प्रदेशका पत्रकारहरूले तालिमबाट प्राप्त ज्ञान भविष्यमा नीतिनिर्माणमा प्रभाव पार्ने खालका तथ्यमा आधारित रिपोर्टिङ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। तालिम भोलि सनिवार सम्म सञ्चालन हुनेछ।

रत्ननगर । रत्ननगर–१, बकुलहरमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा एक समारोहबीच स्वर्णविन्दु प्राशन कार्यक्रमको शुभारम्भ गरिएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्यमन्त्री कृष्ण थापामगरले बालबालिकालाई स्वर्णविन्दु खुवाएर सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री कृष्ण थापामगरले प्रादेशिक अस्पतालको रुपमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तर वृद्धि र भौतिक पूर्वाधारसहित २५ बेड क्षमताको अस्पतालका रुपमा सेवा सुरू भएको र अस्पतालमा थप प्रविधि र कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयले कुनै सम्झौता नगर्ने बताए । आयुर्वेदका १३ प्रकारका औषधिमध्ये १० प्रकारका औषधि सो चिकित्सालयअन्तर्गतको औषधि उत्पादन केन्द्रबाट उत्पादन हुँदै आएको र केही महिनापछि थप नौ प्रकारका औषधि उत्पादन गर्ने योजना रहेको उनले सुनाए । उनले बागमती प्रदेशका १३ जिल्लालाई पुग्ने औषधि यसै केन्द्रबाट उत्पादन गर्न सकिने बताए ।

स्वर्णविन्दु प्राशन बच्चाहरुको वृद्धि विकास, मानसिक विकास र रोग प्रतिरोधी क्षमता बढाउनका लागि मह¤वपूर्ण रहेको जानकारी दिँदै यस चिकित्सालयबाट हरेक महिना ९ गते ५०० बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुने उनले बताए ।

सो कार्यक्रममा प्रमिला दुवाडीले स्वर्णविन्दु प्राशनसँगै पञ्चकर्मको उपचार गरेपश्चात् आफ्नो बच्चामा अटिजमको समस्या ८० प्रतिशत समाधान भएको भन्दै बालबालिकाको निम्ति स्वर्णविन्दु प्राशन अत्यन्तै उपयोगी रहेको बताइन् ।

चिकित्सालयका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख डा। कोपिला अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै आर्थिक वर्ष २०८१–०८२ मा तीन हजार २३४ बालक र दुई हजार ६९३ बालिका गरी पाँच हजार ९२७ बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको र हरेक महिना ५०० बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइने जानकारी दिइन् ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री कृष्णप्रसाद खनालले सबैको अथक प्रयासबाट भौतिक निर्माणलगायत चिकित्सालयको स्तर वृद्धि गर्न सफल भएको भन्दै अब आवश्यक कर्मचारीको व्यवस्थापन र सुरक्षागार्डको व्यवस्था मिलाउन स्वास्थ्यमन्त्रीलाई आग्रह गरे ।

डा। देवेन्दकुुमार यादवले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, आयुर्वेद औषधि उत्पादनकेन्द्रका डा। सुरेश महर्जन, स्वास्थ्य मन्त्रालयका सचिव डा। सुमित्रा गौतम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवाली, स्वास्थ्य निर्देशनालयका निर्देशक डा। नरेन्द्र झा, स्वास्थ्य आपूर्तिकेन्द्रका निर्देशक डा। अर्जुन सापकोटा, रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रञ्जन अवालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमपश्चात् स्वास्थ्यमन्त्रीसहितको टोलीले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय तथा आयुर्वेद औषधि उत्पादनकेन्द्रको अवलोकन गरेको थियो ।

चितवन, साउन ८ । नेपाल पत्रकार महासंघ चितवन शाखालले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ ।

शाखामा आबद्ध पत्रकारहरुको स्वास्थ्य उपचारमा आर्थिक सहयोग गर्ने उद्धेश्यले अक्षय कोष स्थापना गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुलीले अक्षयकोषमा २५ हजार रुपैयाँ जम्मा गरेर कोषको सुरुवात गरेका छन् ।

पराजुलीले उक्त रकम शाखाका कोषाध्यक्ष कृष्ण आचार्य र सचिव राजेश घिमिरेलाई बिहीबार हस्तान्तरण गरेका हुन् । महासंघले पहिलो चरणमा कोषको रकम १० लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको अध्यक्ष पराजुलीले बताए ।

‘कोषको रकम बढाउँदै निकट भविष्यमा एक करोड रुपैयाँ पु¥याउने हाम्रो योजना हो’, उनले भने, ‘कोषको रकमबाट आपतविपद् र विभिन्न रोग लागेर उपचारमा समस्या भएका पत्रकारलाई आर्थिक सहयोग गरिनेछ ।’

महासंघले यस अभियानमा जोडिन सबैलाई सार्वजनिक रुपमा आह्वान समेत गरेको छ । अक्षयकोषको लागि सहयोग गर्न चाहनेले पत्रकार महासंघ चितवन शाखाको प्राइम बैंक भरतपुर शाखामा रहेको खाता नम्बर ००३०१००००००१७२४००१७० मा रकम जम्मा गर्न सकिन्छ ।

बैंक खाताको नाम Federation of nepali journalists-chitwan रहेको छ । अक्षयकोषमा जम्मा भएको रकम र जम्मा गर्नेको नाम पत्रकार महासंघ चितवन शाखाको वेवसाइट र फेसबुक पेजमार्फत सार्वजनिक पनि गरिने छ ।

Subcategories