News

चितवन, असार २१ । तस्विर कोमल चन्द्र भगत ।  चितवनलाई लगातार दोस्रोपटक पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । आज (शनिबार) एक कार्यक्रमका बीच बागमती प्रदेश खोप समन्वय समितिले चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको छ । बागमती प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डा.नरेन्द्र कुमार झाले जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । १५ महिना उमेर भित्रका बालबालिकालाई सबै (१३ वटा रोगविरुद्धको) खोपहरु लगाएपछि पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने गरिएको छ । पूर्ण खोप सुनिश्चितता गर्न १६ देखि २३ महिनासम्मका बालबालिकाहरुमा सर्वेक्षण गर्ने गरिएको छ । वैशाखसम्म थप ५०४ जना बालबालिकालाई पूर्ण खोप लगाईएको छ । पहिलो चरणमा २०८१ माघदेखि चैतसम्ममा ४४८ जना छुट बालबालिकालाई खोप लगाएको थियो भने यही वैशाख महिनामा खोज र खोप अभियान चलाउँदा थप छुट भएका ५६ जना बालबालिकालाई खोप लगाएसंगै चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।

चितवनमा जन्मदेखि १५ महिनासम्मका ९ हजार ७९ जना बालबालिका रहेका छन् भने १६ महिनादेखि ५ वर्षसम्ममा २५ हजार ४५२ जना बालबालिका रहेको तथ्यांक छ । स्वास्थ्य कार्यालयका अनुसार ती सबै बालबालिका अब पूर्ण खोप लगाउन सफल भएका छन् । चैतसम्म गरिएको घरधुरी सर्वेक्षणमा १६ जनाले कुनै पनि खोपको डोज नलगाएको र ४३२ जनाले खोप छुटेको बालबालिका फेला परेको थियो । वैशाखमा थप अभियान चलाउँदा २ जना कुनै पनि खोप नलगाएको र ५४ जना खोप छुट भएको बालबालिका फेला परेको थियो । अहिले ती सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ । चितवनलाई पहिलोपटक २०७५ जेठमा २५ गते पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । त्यसपछि कोरोना भाइरसका कारण अभियान रोकिदा गतवर्ष पुनः चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको थियो ।

 


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका अध्यक्ष एवं जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले चितवनलाई यो उपलब्धि हासिल गराउन सफल भएकोमा सबै स्थानीय तह र स्वास्थ्य संस्थालाई धन्यवाद दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार नेपालमा हाल ८० प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन् भने ४ प्रतिशत बालबालिका कुनै पनि खोप नलगाएको भेटिएका छन् । यस्तै बागमती प्रदेशमा ९.३ प्रतिशत बालबालिका अझै पनि कुनै पनि खोपको डोज लगाउन नपाएको तथ्यांक छ ।

 

 

 

असार १३, चितवन । एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईईको नजिता प्रकाशित गरेको हो। बोर्डका अनुसार २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।


चितवन । भरतपुर महानगरपालिकाले १७ औँ नगर सभाको अवसरमा असल करदाता, निर्माण व्यवसायी, कर्मचारी तथा खेलाडीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा घर बहालतर्फ सबैभन्दा बढी कर तिर्ने भरतपुर ३ का प्रेमकुमार श्रेष्ठ, व्यवसाय करतर्फ भरतपुर १ का रामनारायण श्रेष्ठ र वित्तीय संस्थातर्फ सिद्धार्थ बैंक भरतपुर ३ लाई सम्मान गरेको हो ।
 

यस्तै उत्कृष्ट काम गर्ने निर्माण व्यवसायी सप्तगण्डकी विल्डर्स भरतपुर ९ का उमानन्द कँडेललाई सम्मान गरेको छ ।
यस्तै महानगरमा उत्कृष्ट कार्य सम्पादन गर्ने ८ जना कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो भने आठौँ दक्षिण एसियाली कराँते प्रतियोगिता प्रथम स्थान प्राप्त गर्ने खेलाडी भरतपुर १० की प्रजिस्मा श्रेष्ठ नगदसहित सम्मान गरिएको थियो ।  
 
 
 
 

Subcategories