News

बैशाख ४, चितवन ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनलाई सबैको साझा संगठनको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युनियनलाई भूइँ मान्छेको कुरा भन्न सक्ने युनियन बनाउनुपर्ने विचार राखे । अध्यक्ष लम्सालले प्रेस युनियनलाई नियम, विधि र पत्रकारिताको मर्ममा लाग्न आग्रह गरेका छन् । विधि, विधान भन्दा बाहिर प्रेस युनियन बाहिर नजाने उनको भनाइ थियो । युनियनकर्मीले सबैलाई न्याय गर्नु पर्ने उनले बताए । प्रेस युनियन चितवनको भवनलाई केन्द्रीय तालिमकेन्द्र बनाउन सबैले सहयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारितामा देखिएका समस्या समाधान गर्न नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । समाजमा भएका समस्याहरुलाई जस्ताको तस्तै ल्याउन सक्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको मर्म र कर्म एक बनाएर जानुपर्ने बताए । सो अवसरमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, संविधानसभा सदस्य गिता वाग्ले, प्रदेश सभा सदस्यहरु उत्तम जोशी, बिनु रायमाझी पौडेल,माया श्रेष्ठ,नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल, नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, प्रवक्ता अनमोल अधिकारी, प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दिपक आचार्य, मैयादेवी ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रकाशमणि ज्ञवालीलगायतले बोलेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन चितवनको ८ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिबाट उत्कृष्ट सदस्यमा कोषाध्यक्ष विप्लब काफ्लेलाई सम्मान गरिएको थियो । युनियनको नवौं जिल्ला अधिवेशन वैशाख २७ गते सम्पन्न भएको थियो । कार्यक्रम नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

बैशाख ४, चितवन ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन् । 

काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थीत गराईको थियो । उनलाई शरणार्थी प्रकरणमा भएको ठगिमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले अदालतमा उपस्थीत गराएको छ । पक्राउ परेका दुवैलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो । शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोप बहादुर रायमाझी लगाएतलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बैशाख ४, चितवन ।
चितवन रोटरी क्लबले आज भरतपुर महानगरपालिका ३ का वडा अध्यक्ष विकास थापाको समन्वयमा शारीरिक अपाङ्गता तथा आर्थिक स्थिति कमजोर भएका स्थानीय व्यक्तिहरूलाई उनीहरूकै निवासमा गएर ४ थान ह्विल चेयर वितरण गरिएको क्लबका सचिव तथा कार्यक्रम संयोजक राजन पियाले जानकारी गराए । क्लबका अध्यक्ष दीपक प्रधानले उक्त ह्विल चेयरहरू वितरण गरेको हो ।
शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई उनिहरूकै निवासमा गएर ह्विल चेयर वितरण गर्न पाउँदा आत्मसन्तुष्टि र खुशी मिलेको वर्ष २०२३÷२४ का लागि क्लबका निर्वाचित अध्यक्ष चन्द्रेश्वर भट्टराईले बताए । ह्विल चेयर वितरण कार्यमा वडा सदस्य राम लोहनीको सहयोग प्राप्त भएको संयोजक पियाले बताए ।
स्वार्थभन्दा माथि सेवाको भावनाले स्थापित चितवन रोटरी क्लबले ३ दशक देखि समाज सेवाको क्षेत्रमा योगदान पु¥याउँदै आएको र रोटरीले दृष्टि नपुगेको ठाउँमा उज्यालो छर्नेदेखि पोलियो उन्मूलनमा संसारभरि नै योगदान दिएको क्लबका अध्यक्ष दीपक प्रधानले बताए । अध्यक्ष प्रधानले समाज सेवाको क्षेत्रमा अग्रसर हुन पाउनु अत्यन्तै सुखद् रहेको र यसबाट आनन्द प्राप्त हुने बताउँदै सम्पूर्ण मानव जगतको सुख, शान्ति र समृद्धिको लागि आपूm सधैँ लागिरहने बताए ।

Subcategories