News


चैत २३, चितवन । भरतपुर महानगरपालिका २९ मा रहेको चौकीडाँडा आधारभूत विद्यालयलाई माध्यमिक तहमा स्तरोन्ति गरिने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित सरोकारवाल बीचमा बुधबार विद्यालयमा गरिएको लफलबाट सो निर्णय गरिएको हो । विद्यालयमा अहिले कक्षा ८ सम्म पढाई हुने गर्दछ । विद्यालयलाई आगामी शैक्षिक सत्रबाट कक्षा ९ को सम्बन्धन दिन लागेको नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिनुभयो ।
चौकीडाँडामा कक्षा ८ सम्मको अध्ययन पुरा भएपछि धेरै विद्यार्थीहरुले अध्ययनलाई स्थगित गर्ने गरेको घटना आएसँगै विद्यालयको स्तरोन्ति गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख दाहालले चौकीडाँडा आधारभूत विद्यालयलाई नमुना विद्यालयका रुपमा अघि बढाईने बताउनुभयो ।
आगामी वर्ष महानगरपालिकाले ४ कोठे विद्यालय भवन निर्माण गर्ने र प्रदेश सरकारबाट थप भवन निर्माणका लागि पहल थालिने उल्लेख गर्नुभयो ।
छलफल कार्यक्रममा अभिभावकहरुले भरतपुरको बजार क्षेत्रमा थप अध्ययनका लागि पठाउन आर्थिक अभाव भएकाले कक्षा ८ पछि अध्ययनलाई रोक्ने गरेको बताएका थिए ।
यस विद्यालयमा विद्यार्थीको संख्या न्युन भएसँगै मर्ज गर्नुपर्ने थियो तर, भरतपुरको विकट क्षेत्रमा पर्ने भएकाले यथावत राखिएको थियो । यहाँका बालबालिकाहरु शिक्षाबाट बञ्चित नहुन भन्ने उद्देश्यले महानगरपालिकाले नमुना विद्यालयको रुपमा अगाडि बढाउने कार्य अघि बढ्ने छ । यस क्षेत्रका वुद्धिजिवी तथा अभिभावकहरुले माध्यमिक विद्यालय बनाउने पहललाई महानगरले सकारात्मक रुपमा लिएपछि माध्यमिक तहमा स्तरोन्ति हुने भएको छ ।

चैत २२, चितवन ।
चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीको विषयमा ६ पेजको स्पष्टिकरण बुझाएका छन् । आज दिउँसो १२ः४० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर रविले स्पष्टिकरण बुझाएका हुन् । उनको स्पष्टकरण जाँचबुझ पछि कार्यालयले आजै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।

चैत २२, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव पनि जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलव्धी गुम्ने खतरा उत्पन्न हुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले आयोजना गरेको सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले फरक र गुणात्मक रुपमा महशुस गर्ने गरि काम गर्न आफु लागिपरेको भन्दै अव पनि अल्मलिए परिवर्तन धरापमा पर्ने खतरा रहेको बताउनुभएको हो । उहाले केहि दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने र सरकारको सम्पूर्ण ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा केन्द्रीत हुने धारणा राख्नुभयो । यसपटकको सरकारको कार्यक्रम परम्परागत भन्दा केहि भिन्न र नयाँ हुने उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अहिले निकै चुनौतीपूर्ण अवस्थामा मोर्चा गरेर नेतृत्वको अवसर प्राप्त भएको भन्दै सवै मिलेर अर्थतन्त्र लगाएतका समस्या समाधानका लागि एकजुट हुनुपर्ने बताउनुभयो । संविधान र संघीयताको कार्यान्वयनमा बहसहरु रहेको भन्दै उहाले कतिपय शक्तिहरुले परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेको बताउनुभयो । माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने पनि बताउनुभयो । 

प्रचण्डले नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र भएकाले ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो । उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरु उद्योग दीर्घकालीन समाधान नभएकाले कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिने उहाको भनाइ छ ।

Subcategories