News

बैशाख १८, चितवन ।

तस्विर : कोमल चन्द्र भगत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ । हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो । चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत उहांको भनाइ छ । प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण खेल भएको उहाँले बताउनुभयो । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटनको क्षेत्रमा यो खेलले महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । प्याराग्लाइडिङका लागि तोकेको मापदण्ड पूरा गरी सुरक्षित रुपमा खेलाइनुपर्ने उहाँको भनाइ थियो ।

पर्यटकीय दृष्टिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यावसायिक उडान सुरु गरिएको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । जङ्गल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यका रुपमा बसाइँ लम्ब्याउन सकिने गरी प्याराग्लाइडिङ सुरु गरिएको उहाँले बताउनुभयो । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।

यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उहाँले बताउनुभयो । हाल १० प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने छ । सन् २०१५ मा विदेशीले यहाँ उडान भरेको पाइन्छ । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको घलेको भनाइ छ ।

 

 

बैशाख १८, चितवन ।

तस्विर कोमल चन्द्र भगत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गर्नुभएको छ ।

सोमबार चितवनमा प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गर्नुभएको हो । उहाले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको भन्दै न्यूनतम साझा कार्यक्रममा समेत भ्रष्टाचार अन्त्य गर्नका लागि प्रतिवद्धता जनाइएको जानकारी दिनुभयो । उहाले महाविर पुन आफूसँग सल्लाहानै गरेर माइतीघरमण्डलामा धर्नामा बसेको बताउनुभयो । धर्ना अघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उहाँले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उहाँले बताउनुभयो । उहाले अयोग्य लडाकुका बारेमा अदालतको फैसलालाई आफुले कार्यान्वयन मात्रै गर्न खोजेको स्पष्ट पार्नुभयो ।

उहाले एमाले अध्यक्ष केपी ओलीमाथिको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा झुटो भएको बताउनुभयो । ओलीले भनेजस्तो तत्कालीन राजा र तीनका समर्थकले विरोध गरेको हो भने त्यो गम्भीर बिषय भएको उहाले बताउनुभयो ।

बैशाख, १५, ठोरी ।

 

चितवनका संरक्षणकर्मीहरुले गैंडा जोगाउन पर्सा जिल्लाको ठोरीमा अन्तर्क्रिया कार्यक्रम गरेका छन्।

रत्ननगर स्थित मृगकुञ्ज उपभोक्ता समितिले ठोरी गाउँपालिका वडा नं २ बाडगाउँमा निकुञ्ज,मध्यवर्ती,जनप्रतिनिधि तथा स‌ंरक्षणकर्मीहरुलाई एकैठाउँमा राखेर दुर्लभ एकसिंगे गैंडा सहित वन्यजन्तु सरक्षणमा सरोकारबालाहरुको भूमिकाको विषयमा अन्तरक्रिया गरिएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रममा संरक्षणकर्मीहरु वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय सरकारलाई साझेदार संस्थाको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । संरक्षणमा निकुञ्ज,नेपाली सेना र समुदायको त्रिपक्षिय सहकार्य सफल रहेको भन्दै उनीहरुले संरक्षणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारलाई साझेदार संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताएका हुन ।

मृगकुञ्जका पूर्व अध्यक्ष बासुदेव चापागाईँले वन्यजन्तु संरक्षणको लागि स्थानीय सरकारले स्वामित्व ग्रहणगर्दै बार्षिक रुपमा योजना निर्माण गर्दा प्राथमिकता बजेट विनियोजन गर्नु पर्ने बताए । सरक्षणकर्मी पशुराम लामिछानेले संरक्षणमा लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकिएको भन्दै संरक्षणलाई विकाससंग जोड्नु पर्ने बताए ।

कार्यक्रममा चितवन निकुञ्जका सौराहा सेक्टर प्रमुख सरोजमणि पौडेलले स्थानीय सरकारलाई पनि संरक्षणको साझेदार संस्थाको रुपमा लिनुपर्ने बताए । प्रभावकारी सरकार भनेकै स्थानीय सरकार हो उनले भने संरक्षणलाई मजबुत बनाउन स्थानीय सरकारको सहभागिता अर्थपूर्ण हुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले निकुञ्ज र स्थानीय सरकार बीचको असमझदारी अन्त्य गर्दै संरक्षणमा सहकार्यको आवश्यकता रहेको बताए ।

मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वनकी सचिव रिता थापा, संरक्षणकर्मी टीका कँडेल लगायतले मन्तब्य राखेका थिए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सिकाई अबलोकन भ्रमणमा निस्किएका संरक्षणकर्मीहरुले ठारी पुगेर वन्यजन्तु संरक्षणमा समुदायको भूमिकाको बारेमा अन्तरक्रिया गरेको मृगकुञ्जका सचिव ओम प्रसाद रिमालले जानकारी दिए ।

Subcategories