News

फागुन १७, चितवन – नारायणी नदीकिनारलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । नदी किनार स्थित करिब १५ विगहा जमिनमा पर्यटक आकर्षण गर्ने किसिमले संरचनाहरु निर्माण गर्न थालिएको छ । बुधबार बिहान नदी किनारमा सहरी विकास मन्त्रालय अन्तर्गतआरती स्थल तथा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत नारायणी नदी किनारा संरक्षणको संयुक्त रुपमा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्तरुपमा शिलन्यास गरे । नगरप्रमुख दाहालले नारायणी नदी किनारलाई उत्कृष्ट पर्यटकीय स्थल बनाई विश्वभरबाट पर्यटक आकर्षित गरी पर्यटकीय गतिविधि गर्न सकिने गरी विकार गरिने बताइन् । ‘विश्वभरबाट पर्यटक आउने गरी आकर्षणको केन्द्र बनाइने छ’, उनले भनिन्, ‘नदी कटानको समस्याबाट पनि मुक्ति पाइने छ भने घुमफिरको गन्तव्य पनि हुनुको साथै महानगरको राजस्वमा पनि उल्लेख्य वृद्धि हुनेछ । पर्यटक लोभ्याउने किसिमका संरचनाहरु बन्ने र नदी किनारलाई धार्मिक क्षेत्र, प्रर्दशनी क्षेत्र र खेल क्षेत्रका रुपमा विकास गरिने लक्ष्य छ रहेको दाहालको भनाइ छ ।
मेयर दाहालका अनुसार यहाँ २८ मिटर लम्बाई र ५ मिटर चौडाइका दुईवटा आर्कषक आरती प्लेटफर्म निर्माण हुनेछन्’, ‘४५ वटा आकर्षक बत्तीहरु जडान गरिनेछ ।’ नदीकिनारको ५ सय वर्गमिटर क्षेत्रमा मोज्याइक टायल विच्छाइनेछ । फागुन १० मा सम्झौता भएको यो योजना २०७१ भदौ ९ मा सम्पन्न हुनेछ । महालक्ष्मी–ओम सत्य साई जेभी भरतपुरले निर्माणको जिम्मेवारी लिएको छ । भरतपुर महानगरको गुरुयोजनाअनुसार नदी किनारको सौन्दर्यकरणको काम सुरु भएको छ । नारायणीको पुलदेखि नारायणी लिफ्टसम्मको २.५ किमि क्षेत्रमा पर्यटन पूर्वाधारहरु बन्नेछन् । निर्माण सम्पन्न भइसकेपछि नदीकिनारमा चहलपहल थप बढ्नेछ, पर्यटकहरु रमाउने क्षेत्रका रुपमा चिनिनेछ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले आकर्षक आरती स्थल निर्माण १८ महिनामा पूरा हुने जानकारी दिए ।

२०७६ को बैशाखदेखि नारायणी नदीकिनारमा साँझ आरती गरिँदै आइएको छ । गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले नदीकिनार धार्मिक गन्तव्य बन्न लागेकोमा खुशी व्यक्त गरे । मनको शान्तिका लागि समेत नदीकिनार आउनेहरुको संख्या बढ्ने अपेक्षा गरिएको छ । नारायणीको किनारमै किनारा संरक्षणका लागि ६ सय ४० मिटर दुरीमा संरचनाहरु बन्ने भएका छन् । १५ करोड ९२ लाख लागतमा डाइनामिक कन्स्ट्रक्सन प्रालिले १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी पुस ५ गते सम्झौता गरेको छ । नारायणी नदी व्यवस्थापन आयोजनका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर शंकर बुढाथोकीका अनुसार ३ सय मिटरको काम सुरु भैसकेको छ । बाँकी काम छिट्टै सुरु हुन्छ । करिब एक सय वटा ४ पांग्रे सवारी राख्न मिल्ने गरी पार्कीङ स्थल पनि बनाइने योजना रहेको छ । नारायणी नदीकिनारमा पूर्वाधार विकासका लागि भरतपुर महानगर, सिँचाई मन्त्रालय, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेका छन् । नारायणी नदी व्यवस्थापनका लागि २ अर्ब ४३ करोड ४० लाख बराबरको पाँचवटा प्याकेजमा काम हुनेगरी सम्झौता भएका छन् । नारायणी पुलको माथिल्लो भागदेखि गोलाघाटसम्म नदी तटबन्धनको कामसमेत हुँदैछ ।

फागुन १७, चितवन – चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधवार) पत्रकार सम्मेलन गरि सुन र हिराको गरगहनासहित तीन जना भारतिय नागरिकलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने ४२ बर्षिय विनोद प्रसाद, कारमा सवार भारतको पश्चितम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने ५१ बर्षिय गणपत कुमार तोसावर र कारमा सवार सोही स्थानका ४२ बर्षिय नरेश बर्मा रहेका छन् ।  बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले आज विहान १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १२ गोन्द्राङस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्च्मि तर्फ आउँदै गरेको WB 12AV 5566 भारतीय नं को नेक्सन कम्पनीको कारलाई रोकी कारमा सवार चालक समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई गाडीमा खोजतलास गर्दा बहुमूल्य गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले जानाकारी दिए । प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला र हिराजडित गरगहना २२.८७८ तोला बरामद गरिएको र उक्त गरगहनाको अनुमानित मूल्य एक करोड १० लाख बराबरको रहेको उनको भनाइ छ ।

फागुन १६, चितवन,
चितवन मेडिकल कलेजले नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफलतापुर्वक भएको जानकारी दिएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिएको शल्यक्रिया सफल भएको हो ।

 

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताए। नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।”

 

उहाँका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन् । दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उनले बताए।

यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा डा आचार्यले भने, ‘त्यो पनि हामीले ठाउँ बदल्यौँ ।’ महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ ।

नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उहाँले त्यसमाथि मुटुजस्तो संवेदनशील अङ्गको शल्यक्रिया झनै जटिल हुने बताए । गत माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो । शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न थिए।

भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए । बीस दिन एनआइसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

यसैबीच खेती किसानी र ज्याला मजदुरी गर्ने मिलनलाई छोरीको उपचार गर्न आर्थिक अभाव भएको छ । हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको जनाउँदै उनले सरसापट गरेर उपचार गर्दै आएको बताए। काठमाडौँका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर यो सुविधा सरकारले दिएको छैन ।

Subcategories