News

भदौ ९, रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ७ स्थित दुई वटा मुसहर बस्तीमा थप २० घरधुरीमा आइबार सुधारिएको चुलो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले मुसहर समुदायमा वनप्रतिको निर्भरता हटाउन र महिलाहरुको स्वास्थ्य सुरक्षाको लागि मालपुर र सिसुवार बस्तीमा सुधारिएको चुलो वितरण गरेको हो । केही समय अघि ३० घरधुरीलाई चुलो वितरण गरिएकोमा आइतबार थप २० घरधुरीलाई सुधारिएको चुलो प्रदान गरिएको हो । वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा सदस्य राजु आचार्य र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले चुलो हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष महतोले सुधारिएको चुलोले महिलाहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल असर कम हुने विश्वास व्यक्त गरे । धुँवाबाट लाग्ने रोगले मुसहर महिलाहरु ग्रसित हुने गरेको भन्दै उनले सुधारिएको चुलो प्रयोग गर्दा धुवा कम आउने महिलाहरु रोगको सिकार हुनुनपर्ने बताए । उनले मुसहर समुदायको जीवन स्तर उकास्न प्रर्वधनात्मक तथा सीपमुलक कार्यक्रमलाई जोड दिएको उनको भनाई छ । इम्प्याक्टका अध्यक्ष गिरीले समुहर समुदायको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण तथा प्रयोगमा जोड दिएको भन्दै दाउरा लिन जंगल जादा हुने जोखिम घटाउन, स्वास्थ्य जोगाउन र वनप्रतिको निर्भरता हटाउन सुधारिएको चुलो वितरण गरिएको बताए । मुसहर समुदायको जीवन स्तर उकास्न सामुहिक तरकारी खेती, साबुन उत्पादनमा महिलालाई रोजगारी तथा सुधारिएको चुलो निर्माणमा समेत मुसहर समुदायलाई रोजगारी प्रदान गरिएको उनले बताए । ग्यास खरिद गर्न नसक्ने अबस्था रहेका समुदायलाई चुलो वितरणको लागि उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको बताए । सपनाका घरहरु परियोजना अन्तर्गत चितवन जिल्लामा विपन्न समुदायका लागि ४५ वटा घर निर्माण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

चितवन, भदौ ८ । तस्विर कोमल चन्द्र भगत ।

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनको २४औँ वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताउनुभयो । “यहाँ दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र सङ्घीय अस्पताल रहेको छ, भरतपुर ‘मेडिकल सिटी’को रुपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो । देशकै मध्यभागमा रहेकाले उक्त अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा विकास गर्नु आवश्यक भएको उहाँको भनाइ थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा आषेश ढुङ्गानाले प्रतिष्ठानले नेपाल नेत्रज्योति सङ्घसँगको सहकार्यमा काठमाडौँ उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउननुभयो । विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै उहाँले यसलाई अझै प्रभावकारी बनाउँदै लैजान आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति सङ्घ नवलपुरका सभापति होमनाथ जैशी, सङ्घकी सदस्य मिना खरेललगायतले सङ्घको गतिविधिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सङ्घका सचिव केशवप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्दै सङ्घद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत एक वर्षमा तीन लाख ४९ हजार पाँच सय ४६ जनाको आँखाको उपचार गरेको जानकारी दिनुभयो । तीमध्ये ११ हजार दुई सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । रासस

चितवन,भदौ ८ । कोमल चन्द्र भगत ।

तनहुँको आंबुखैरेनी स्थित ऐना पहरामा मा भएको भारतिय पर्यटक बोकेको बस दुर्घटनाका मृतकको शव लिन भारतीय सेनाकाे बिमान चितवन आएको छ । शनिवार अपरान्ह ४ः १५ बजे बिमान भरतपुर विमानस्थलमा अवतरण गरेको हो । मृतक २७ जनाकै शव भारत लैजान सेनाकाे जहाज आएकाे हाे। यस अघि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले ३ बजे तिर नै भारतीय विमान आउने जानकारी दिनुभएको थियो ।

यस्तै तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आएकी हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी छिन् । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।

Subcategories