News

८ भदौं, चितवन । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ । बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । डा. पौडेलका अनुसार मध्यान्न १२ बजेसम्म सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने बताउनुभयो । एउटा शवको पोष्टमार्टम गर्न १० देखि १५ मिनेट लाग्ने डा. पौडेलको भनाइ छ । ‘दुर्घटनामा परेर मृत्यु भएकाहरुको खासै धेरै समय नलाग्ने उहांको भनाइ छ । अस्पतालका फरेन्सिक चिकित्सक डा. कश्यप श्रेष्ठको नेतृत्वमा ३ जना चिकित्सकहरुको टोलीले शवहरुको पोष्टमार्टम गरिरहेको छ । शुक्रबार राति साढे १२ बजेतिर १३ वटा गाडीमा राखेर शवहरू अस्पतालमा ल्याइएको थियो । एक जना घाइतेको भरतपुरमा नै उपचारका क्रममा मृत्यु भएकोको थियो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

७ भदौ, कास्की । कास्कीको पोखरामा स्कुल बस दुर्घटना भएको छ। शुक्रबार दिउँसो पोखरा महानगरपालिका–१७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन् । पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको बस रोडबाट तल रोकिराखेका ट्याक्सीमाथि खसेको थियो। दुर्घटनामा बस चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका प्रहरी निरीक्षक किरण थापाले जानकारी दिए। उनका अनुसार दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो । बसले ठक्कर दिँदा ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ । विद्यालय बन्द भएपछि विद्यार्थी लिएर आएको बस दुर्घटना भए पनि विद्यार्थीहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ।

 

७ भदौ, तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको छ । बसमा चालक सहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ । दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दी नदिमा बेपत्ता रहेको जानकारी दिए ।उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो।

Subcategories