News


चितवन, साउन ३ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदिप विकको परिवारलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहिबार भरतपुर–२२ स्थित स्व सुदिपको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो । भरतपुर महानगरपालिकाको हिजो बसेको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको थियो । सो अवसरमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गर्नुभयो ।
महानगर प्रमुख दाहालले भरतपुर २९ मा भएको प्रकृति विपत्तिले दुई बसका साथै ६० बढीको ज्यान गएको घटनाले मर्माहात भएको बताउनुभयो ।
अहिलेसम्म १८ जनाको शव भेटिएपनि अन्यको अवस्था अज्ञात रहेको र खोजी कार्यमा सुरक्षाकर्मी निरन्तर लागेको प्रमुख दाहालले बताउनुभयो ।
‘हामी अहिले दुःखको क्षणमा छौ,उहाँले भन्नुभयो,‘सन्तान गुमाउनुको पीडा हामीले बुझेका छौ । सिंगो महानगरपालिका यहाँको साथमा छ । शोकलाई शक्तिमा बदल्ने सर्माथ्य मिलोस् भन्ने कामना गर्दछौ।’ प्रमुख दाहालले दुःखमा रहेको परिवारलाई केही भएपनि राहात मिलोस् भनि कार्यपालिका बैंठकमार्फत रु २ लाख दिने निर्णय गरेको स्पष्ट पार्नुभयो । उहाँले संघीय तथा प्रदेश सरकारले यस घटनामा ज्यान गुमाएका पीडित परिवारलाई राहात प्रदान गर्नेमा आशावादी रहेको बताउनुभयो ।

चितवन,साउन २ ।

चितवनको भरतपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आर एच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएको गाडी उनीहरूले प्रहरीकै अगाडि आगजनी गरेका थिए ।
गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताए थिए । टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । आज वडा नं. ७ मा सर्भे गर्दागर्दै स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।’ बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने स्थानीयहरुको भनाई थियो । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ । यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संघर्ष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो ।

चितवन, साउन १ ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट गरेको छ । अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्व बहन गरी अस्पतालले गरिब, असहाय, ज्येष्ठ नागरिक र स्थानीय निकायबाट सिफारिस भई आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक हैसियत कमजोर भएका, परिवारका सदस्य एवं आफन्तजन नभएका असहाय गरिब र वृद्धवृद्धाले पनि निर्बाध रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मूल्यमान्यताअनुरुप निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो, सेवा विस्तारसहित आसपासका जिल्लामा समेत स्वास्थ्य शिविर तथा शाखा सञ्चालन गरी सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरी आमजनताको विश्वास जित्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको छ ।” एक प्रश्नको जवाफमा अस्पतालले दिएको निःशुल्क सुविधाबाहेक गत आर्थिक वर्षमा सङ्घीय सरकारले दिएको रु एक लाखसम्मको छुट लिने बिरामी सङ्ख्या नौ सय ९२, निःशुल्क डाइलासिस सेवा ६ हजार दुई सय ३१ र भरतपुर महानगरका महिलाहरुको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत चार हजार तीन सय ९५ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ । यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत गत वर्ष एक हजार ५५ गर्भवती महिलालाई निःशुल्क प्रसूति सेवासहित बाटो खर्चसमेत उपलब्ध गराएको प्रशासक देवकोटाले बताउनुभयो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ९६ जटिल प्रकृतिका शल्यक्रिया भएका छन्भने ठूलो सङ्ख्यामा मध्यम र सानातिना शल्यक्रिया भएका छन् । अस्पतालले २० भन्दा बढी अति विशिष्टीकृत सेवा दिँदै आएको छ । डा लम्सालले आर्थिक वर्ष २०८१÷८२ देखि स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । चितवनवासीसहित बाहिर जिल्लाका बिरामीको मागलाई ध्यानमा राख्दै बीमा बोर्डसँग आग्रह गरेर पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । स्वास्थ्य बीमा बोर्डले चितवन मेडिकल कलेज ९सिएमसी० सहित १० वटा मेडिकल कलेजलाई आजदेखि लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति दिएसँगै अस्पतालले बीमा कार्यक्रम सुरु गरेको हो । अस्पतालले गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार पाँच सय ५१ रहेका छन्भने एक लाख सात हजार तीन सय ९९ जना ‘फलोअप’ बिरामी रहेका छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ । रासस

 

Subcategories