News

३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ । सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् । आज बिहानमात्रै एक जनाको शव फेला परेको थियो । शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ ।

 

२८, असार, चितवन । चितवनको भरतपुर महानगरपालिका २९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निःशुल्क खाना खुवाउने भएका छन् ।

होटल व्यवसायी संघ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई निःशुल्क खाना खुवाउने विज्ञप्ति निकालेर जानकारी दिएको छ । पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए । पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खानरबस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निस्शुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले जानकारी दिए ।

असार,२८, पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन् । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धारमा खटिएकै क्रममा पुरिएर निधन भएको थियो । पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

Subcategories