News

मंसीर २२, चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का सम्झौता तोडेको छ । ठेक्का लागेको दुई बर्ष नाघ्दा समेत काम सुरु नभएपछि भरतपुर महानगरपालिकाले आर्या विल्डर्स इन्जिनियरिङ प्रालिसंगको ठेक्का सम्झौता तोडेको हो । २०७८ साल भाद्र महिनामा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्लाजाको शिलान्यास गरेका थिए । सार्वजनिक नीजि साझेदारी (पिपिपि) मोडल अन्तरगत तीन बर्षमा निर्माण गर्ने भनिएपनि ठेक्का पाएको कम्पनीले काम सुरु नगरेपछि बिहिबार बसेको कार्यपालिकाको बैठकले सम्झौता तोडेको प्रशासयिक अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । ‘पटक पटक पत्राचार गर्दा समेत निर्माण कम्पनीले काम सुरु नगरेपछि ठेक्का सम्झौता गरेको कम्पनी संग कार्यपालिको बैठकले ठेक्का तोड्ने निर्णय गरेको प्रशासकीय अधिकृत रानाले बताए ।

काम सुरु नगरेपछि महानगरपालिकाले निर्माण कम्पनीलाई एक महिना अघि फाइनासियल क्लोजर, वातावरण मुल्यांकन, वर्क सेडुल, पेश गर्न मंसिर २० गतेसम्मको म्याद दिइएको थियो । कम्पनीले समयमा पेश नगरेपछि ठेक्का रद्द गरिएको हो । ठेक्का रद्दसंगै निर्माण कम्पनीलाई महानगरपालिकाले कारबाही समेत गरेको छ । ‘एक करोड २० लाख धरौती रकम जफत हुने र कम्पनीले महानगरलाई ३५ लाख रुपैयाँ दिन बाँकी रकम पनि अशुल गरिने आर्थिक महाशाखा प्रमुख जगन्नाथ अर्यालले बताए ।

ठेक्का रद्द भएपछि नयाँ प्रकृयाबाट निर्माण गर्न सक्ने उनले बताए । ‘सार्वजनिक निजि साझेदारी कार्यक्रममा यही नै हुन्छ भन्ने छैन । पहिले ठेक्का खुलाउँदाको दोस्रो विलिङको कम्पनीलाई निर्माण गर्न दिन पनि सकिन्छ । नयाँ ठेक्का खुलाउन पनि सकिन्छ’, उनले भने, ‘अहिले के गर्ने भन्ने केही निर्णय भएको छैन ।’ दोस्रोमा भारतीय इनोभेटिभ कम्पनी थियो । रद्द गरेको निर्माण कम्पनी भने सम्पर्कमा आउन चाहेको छैन ।

आर्या विल्डर्स इन्जिनियरिङ प्रा।ली बिच महानगर र आर्यबीच २०७८ साउन २४ गते तीन बर्षमा सक्ने गरी सम्झौता भएको थियो । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा निजी क्षेत्रले करिब तीन अर्ब लगानी निर्माण हुन लागेको थियो ।
तीन वटा बेसमेण्ट पार्किङ सहितको १२ तले सुविधासम्पन्न भवन बनाउने सम्झौता छ । यहाँ चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरु बन्ने बताइएको थियो ।

कम्पनीलाई तीन बर्षमा निर्माण सम्पन्न गर्ने र २७ बर्ष व्यवसाय सञ्चालन गर्न दिने गरी ३० बर्षका लागि दिइएको थियो । त्यसपछि सो सम्पती महानगरपालिकाको स्वामित्वमा आउने गरी सम्झौता गरिएको अर्यालले जानकारी दिए । ३० वर्षमा निर्माण कम्पनीले करिब ८५ करोड राजश्व दिने सम्झौता भएको उनले सुनाए ।

मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने लक्ष्य राखिएको थियो । पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिने भनिएको थियो । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्व सहित एक करोड ५३ लाख ७५ हजार रुपैयाँ लिने सम्झौतामा उल्लेख थियो ।

 

मंसीर २०, भरतपुर ।

भरतपुरमा २९ युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित दुई महिने कपाल काट्ने तालिम सुरु भएको छ । सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिलक्स सैलुनमा सो तालिम सुरु भएको हो । भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखा सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले आयोजना गरेको तालिमलाई महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरेका छन् । उपमेयर अधिकारीले सिप सिकेपछि स्वदेश तथा विदेशमा गएर दुःख नपाइने विचार राखे । महानगर आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्र पौडेलले कार्यक्रममा महानगरले तालिममा सहभागी युवाहरुलाई सिप सिकेर नेपालमा नै केही गर्न आग्रह गरे । भरतपुरका विभिन्न वडाका २९ जनाको तालिममा सहभागिता रहेको छ । हरेक वडाबाट वडा अध्यक्षले सिफारिस गरेका व्यक्तिहरु तलिममा सहभागी रहेको पपुलर युनिलक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले बताए ।

 

मंसीर २०, भरतपुर । तस्विर कोमल चन्द्र भगत । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ । स्वास्थ्यकर्मीहरुले विषेश गरी नसर्ने रोग लागेका विरामीलाई सेवा दिने छन् । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २४ मा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम उद्घाटन गर्नुभयो । प्रमुख दाहालले दाहालले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रममा समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।” यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिनेछ । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ । दाहालका अनुसार पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागु हुन्छ । पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुन्छ । बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

यस क्रममा आएका जनताका समस्यालाई समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन् । सो अभियानमा नसर्ने रोगका विषयमा बढी ध्यान दिइनेछ ।करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको सुवेदीले बताउनुभयो ।

स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ ।

महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेका छन् । वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो । यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

–––

Subcategories