News

मंसीर १२, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीको निजि सचिवायले जनाएको छ । सो अवसरमा उहाँहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । सिंहदरबार पुग्नुभएका अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गर्नुभएको थियो ।

मंसीर १२, नवलपुर ।

। समाजसेवी एवम् राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्य तिथि विविध कार्यक्रम गरी मनाइएको छ ।

सोमबारदेखि सुरु भएको वार्षिक पुण्य तिथिको कार्यक्रममा सोमबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । वार्षिक पुण्य तिथिको कार्यक्रममा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर सन्न्यास आश्रम देवघाटधामका पीठाधीश एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनान पीठाधीश स्वामी कमलनयनाचार्यलगायतका सन्तहरुकोसमेत उपस्थिति रहेको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटाको पितासमेत रहनुभएका तिलकप्रसादको पुण्यतिथिका अवसरमा आज रक्तदान, स्वर्गीय सापकोटाको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, स्वर्गीय सापकोटामा समर्पित पत्रिकाको विशेषाङ्क लोकार्पण, कवि गोष्ठी, लक्ष्यदीप प्रज्ज्वलनसहितका कार्यक्रम गरिएका छन् । श्रद्धाञ्जलिसभा कार्यक्रममा साहित्यकार डा नवराज लम्साल, गोविन्दराज विनोदी, राससका प्रधान सम्पादक एकराज पाठक, गण्डकी प्रदेशका पूर्व सांसद विष्णु लामिछानेले विजय खबर विशेषाङ्क लोकार्पण गर्नुभएको थियो । विशेषाङ्कमा स्वर्गीय सापकोटाको जीवनीसहित उहाँले गर्नुभएका र उहाँका बारेमा लेखहरु समावेश गरिएको राससका प्रधान सम्पादक पाठकले जानकारी दिनुभयो ।

त्यसैगरी, स्वर्गीय सापकोटाको योगदानमा आधारित कवि गोष्ठीमा साहित्यकार डा नवराज लम्साल, हीरालाल कँडेल, लक्ष्मीकान्त शर्मा (लकाश)लगायतले कविता वाचन गर्नुभएको थियो । त्यसैगरी, स्वर्गीय सापकोटाको पुण्य तिथिका अवसरमा उहाँकै निवासमा नेपाली कांग्रेस गैँडाकोट–८ वडा समितिले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । सो कार्यक्रममा ३५ जनाले रक्तदान गरेका स्वर्गीय सापकोटाका ज्येष्ठ सुपुत्र केशवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

लोकतन्त्रको स्थापना र शिष्ट राजनीतिक संस्कारको निर्माणका लागि १४ वर्षको उमेरदेखि ७९ वर्षको उमेरसम्म पनि सापकोटा निरन्तर संघर्षरत रहनुभएको थियो । सापकोटाले आफ्नो जीवनकालका महत्वपूर्ण समय समाजसेवा र राजनीतिको माध्यमबाट सामाजिक–आर्थिक रूपान्तरणको अभियानका लागि लगाउनुभयो । सापकोटा नेपाली काँग्रेस गैँडाकोटका संस्थापक अभिभावक हुनुहुन्छ ।

सापकोटा नेपाली कांग्रेसमा २०१५ सालदेखि सक्रिय रहनुभएको थियो । सापकोटाले जननेता वीपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिनुभएको थियो । आफू राजनीतिक र सामाजिक रुपमा स्थापित रहेको नवलपुर–१ मा कांग्रेसका तर्फबाट आफूले पाएको संसदीय टिकट नेता शशांक कोइरालालाई दिएर पटक–पटक कोइरालालाई संसद् पठाउने त्यागी नेताका रुपमा सापकोटा चिनिनुहुन्छ । सापकोटाले आफ्नो जीवनकालमा भाषा, संस्कृति, धर्म, सामाजिक कर्म, विकास निर्माणका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएको छ ।

जीवनको उत्तराद्र्धमा श्वासप्रश्वास सम्बन्धि समस्याबाट पीडित सापकोटाको ७९ वर्षको उमेरमा गत वर्षको कात्तिक २३ गते उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।


मंसीर १०, रत्ननगर । रत्ननगरको टिकौलीचौरमा पौष अन्तिम साता हुने रत्ननगर महोत्सवको सफल सम्पन्नताको लागि नगर स्तरीय राजनीतिक दलहरुसंग आइतबार अन्तरक्रिया गरिएको छ । महोत्सवलाई सार्थक र सफल बनाउन राजनीतिक दलले खेल्नु पर्ने भूमिका र स्थानीयबासीको मागको विषयमा छलफल गरिएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । राजनीतिक दलहरुले महोत्सवमा स्थानीय व्यवसायी र स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । महोत्सवको स्थान परिर्वतनको विषय उठिरहेका बेला राजनीतिक दलहरु यस पटकको महोत्सव टिकौलीमै गर्न र त्यसपछिका महोत्सवमा स्थानको विकल्प खोज्न संघलाई आग्रह समेत गरेका छन् । कृषि क्षेत्रको विकासका लागि विज्ञहरु सहितको अन्र्तक्रिया, गाउँबाट आउनेलाई यातायातको व्यवस्था, संघले चित्रसारी मेलाको समेत अपनत्व दिनुपर्ने, अधिकारकर्मीहरुको मागलाई सम्बोधन, गुणस्तरहिन सामानको विक्री वितरणमा रोक लगाउन दलहरुले आग्रह गरेको संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस कार्यबहाक नगर सभापति अपिल अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरी अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष रामनाथ भट्टराई, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, एकीकृत समाजबादीका नगर सचिव इश्वरराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष निराजन खनाल सहित पूर्व अध्यक्षहरु तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २६ गते देखि माघ ८ गते सम्म सञ्चालन हुने सो महोत्सव यस पटक १२औं संस्करण हो । चितवनको आर्थिक विकास गर्ने उद्देश्यले सो महोत्सव हुँदै आएको छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइनेछ । स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने छ ।

Subcategories