कतार सरकारलाई उपहार दिएको दुइ हात्तीको चितवनबाट बिदाई, पुष २ मा भैरहवाबाट कतार लगिने
चितवन, मंसिर २९ । तस्विर : कोमल चन्द्र भगत ।
नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरिएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज (मंसिर २९) चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई एक कार्यक्रमबीच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दुवै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइनेछ । त्यहाँबाट आउँदो पुस २ गते कतार एयरवेजको चार्टर्ड फ्लाइटबाट सिधैँ कतार पठाउने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तले जानकारी दिनु भयो । हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । पुस २ गते बिहान भैरहवामा नेपालले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्नेछ ।


नेपालले अरू विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो । विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले हात्ती कतार पठाउने प्रक्रिया लगभग पूरा भएको जानकारी दिनु भयो। उनका अनुसार कतार पठाउन लागिएका मध्ये खगेन्द्रप्रसाद भनिने भाले हात्ती ६ वर्षको छ । रुद्रकली भनिने पोथी हात्ती सात वर्षकी हो । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेका दुवै हात्ती त्यहीँ हुर्काइएका हुन् । ०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आएका बेला एक जोडी हात्ती उपहार दिने भनिएको थियो । नेपालले साइटिसलगायत प्रक्रिया पूरा गरी ०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको थियो ।

कतारमा हात्ती हुर्काउनका निम्ति नेपालबाट एक भेटनरियन प्राविधिक र दुई माउते समेत एक महिनाका लागि पठाउन लागिएको वरिष्ठ इकोलोजिस्ट आचार्यले बताए । उनीहरू एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्कनेछन् । कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनका बारेमा नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा । पन्तले जानकारी दिनु भयो ।







