News

माघ २६, चितवन । तस्विर कोमल चन्द्र भगत  । नेपालमा पहिलोपटक आज ( सोमबार ) चितवनको माडीमा सालक सम्मेलन शुरु भएको छ । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आयोजना र डिभिजन वन कार्यालय चितवनको संयोजनमा माडीमा सम्मेलन आयोजना गरिएको हो ।

वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सक्रियतामा विज्ञसहित २ सय भन्दा बढीको सहभागिता रहेको छ ।

संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण र चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल गरिनेछ । राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रूपमा सालकलाई राखेको र अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य मानिन्छ । प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम बनाएर काम अघि बढाएको छ । आउँदो वर्षदेखि नियमित रूपमा सालक संरक्षणका लागि काम गर्ने बागमती सरकारको योजना छ ।

माघ २६, चितवन । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमणमा परी ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मुल्य बढिको कपडा बरामद गरेको छ । कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाईते भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

चितवन, माघ २३ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । राजविराजमा उज्यालो नेपाल पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभयो । ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको घिसिङको भनाइ थियो । उहाँले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने उल्लेख गर्दै १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर विद्युत्बाट आम्दानी गर्न सकिने बताउनुभयो । “देश आत्मनिरर्भर बन्ने र नेपाली जनताले पनि निःशुल्क रुपमा विद्युत बाल्न सक्ने अवस्था बनाउन सकिन्छ । कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन, यसमा हाम्रो पार्टी प्रष्ट छ”, अध्यक्ष घिसिङले भन्नुभयो । जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै उहाँले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभयो । रासस

 

Subcategories