News

चितवन, माघ २३ ।
यही माघ २५ गतेदेखि यहाँ हुन लागेको अन्तरराष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ । ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनी हुन लागेको हो । व्यावसायिक रुपमा राम्रो नश्ल भएको गाई कहाँ पाइन्छ र यसबाट हुने फाइदा के हो भन्ने बारेमा किसानलाई जानकारी दिनका लागि गाई प्रदर्शनी गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो । चितवनसहित अन्य जिल्लामा पालिएका राम्रो नश्ल भएका गाई ल्याएर प्रदर्शनी गरिनुका साथै ती गाईको बारेमा बुझाइने उहाँले बताउनुभयो । उहाँका अनुसार माघ २९ गतेसम्म चल्ने डेरी एक्स्पोका अन्य आकर्षणमा मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, दूध उत्पादनको वर्तमान अवस्था बजारको समस्या र सामाधानका उपायसम्बन्धी अन्तरक्रिया गरिने छ ।

यसमा पशुपालनमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौती तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा लगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । यस प्रदर्शनीमा नेपाल र भारत गरी १२० दुग्ध उत्पादक र प्रविधि कम्पनी सहभागी हुने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा डेरी उत्पादन, प्रक्रिया र वितरणमा नविनतम प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जामा जोड्न टेवा पुग्ने अध्यक्ष बगालेले बताउनुभयो । प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु पाँचदेखि सात करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर जाने गरेको छ । ११५ दुग्ध उत्पादक सहकारीमा हाल ४० हजार बढी किसान आबद्ध रहेका छन् ।

चितवन, माघ २३ ।

विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समिति मार्फत काम सुरु गरिएको हो । वनकट्टा चेकपोष्ट नजिक इन्टरब्लक बिछ्याउने काम उपभोक्ता समिति मार्फत काम सुरु गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास ढकालका अनुसार लागत अनुमानमा ३४ मिटर क्षेत्रमा मोज्याक लगाउने भनिएको भए पनि ४२ मिटर सडकमा मोज्याक लगाउन लागिएको छ । सात मिटर चौडाइ सडकमा मोज्याक बिछ्याउन लागिएको हो । नगरपालिकाले रु १० लाख विनियोजन गरेर उपभोक्ता समितिमार्फत पहिलो चरणमा परीक्षणका रुपमा काम सुरु गरेको हो । सडकको एकातर्फ कर्भस्टोन लगाइएको छ । अर्कोतर्फको काम शनिबारसम्ममा सम्पन्न गरेर एक साताभित्र मोज्याक टायल बिछ्याउने काम सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । नगर प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो । यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ । विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ । प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि रु पाँच करोड ५० लाख विनियोजन गरेको छ । परीक्षणका रुपमा उपभोक्ता समिति बनाएर थोरै ठाउँमा काम गरेपछि प्रभावकारिताका आधारमा थप क्षेत्रमा काम गरिने उहाँले जानकारी दिनुभयो । कसराको राप्ती पुलबाट रिउखोलासम्म करिब नौ किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । त्यसमध्ये राजपत्रमा प्रकाशित भएको सुविधा प्राप्त बाटो भनी उल्लेख गरेको रिउ खोलादेखि ध्रुव पोष्टसम्मको सडकलाई पहिलो प्राथमिकता राखिएको छ । करिब पाँच किलोमिटर सडक रहेको सुविधा प्राप्त बाटोको काम सुरुमा गरिने प्रमुख महतोले जानकारी दिदिनुभयो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार विभागले मन्त्रालयमा भएको सहमतिअनुसार सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गरिदिन पत्र पठाएको छ । उहाँले भन्नुभयो, “काम माडी नगरपालिकाले गर्दैछ, आवश्यक सहजीकरण हामीले गर्छौं ।”

माडीका नागरिकले पटकपटक सो सडकलाई धुलोरहित बनाउन माग गर्दै आएका थिए । जेनजी आन्दोलनका क्रममा माडीमा कुनै सरकारी वा निजी सम्पत्तिमाथि आक्रमण नगर्ने तर निकुञ्जभित्रको सडक निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुसार माडीका आन्दोलनकारीले सो क्षेत्रमा कुनै पनि संरचनामाथि आक्रमण गरेका थिएनन् ।

त्यसलगत्तै माडीका जनप्रतिनिधि, आन्दोलनकारी, राजनीतिक दललगायत सरोकारवालाहरुले वन तथा वातावरण मन्त्रालयमा पुगेर सडकमा कालोपत्र नगर्ने तर मोज्याक वा ढुङ्गा लगाएर धुलोरहित बनाउने सहमति गरेका थिए । माडी जान चितवन राष्ट्रिय निकुञ्ज हुँदै पुग्नुपर्ने हुन्छ । माडी क्षेत्रलाई सबैतिर जङ्गलले घेरेको छ । उर्भर भएर पनि सो क्षेत्रका बासिन्दा वन्यजन्तुबाट प्रभावित छन् । सदरमुकाम भरतपुर आवतजावत गर्ने यो मात्रै सडक हो । रासस


१९,पुस, चितवन ।
उद्योग बाणिज्य संघको ५९ औं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हालका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्यानल नै बनाएर होमिएका छन् ।
‘व्यावसायिक एकता एवम् संस्थागत प्रतिवद्दताः सवल, सक्षम र अनुभवी नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ पुस २१ गते हुने निर्वाचनमा होमिएको टिमले व्यवसायीहरुको मनसँगै मतको अपेक्षा राखेको छ ।
अनुभवी, युवा सबैलाई सन्तुलन मिलाएर टिम बनाएका सुवेदीले विगत २२ बर्षदेखि उद्योग बाणिज्य संघ चितवनको विकासमा अनवरत रुपमा लागेका एक कर्मयोगी व्यवसायी हुन् । संस्थागत र व्यवसायीको हित भन्दा कहिल्यै बाहिर नजाने स्वभावका सुवेदी एकैपटक अध्यक्ष उठ्ने स्थानमा आएका होइनन् । उनले संघको साधारण सदस्य, कार्यसमिति सदस्य, तृतिय उपाध्यक्ष, द्धितीय उपाध्यक्ष ९दुईपटक०, प्रथम उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्न लागेका हुन् । उनको लामो योगदान, अनुपम निष्ठा र त्याग मात्रै होइन सुवेदी संघलाई बलियो बनाउनसमेत निरन्तर लागिरहेका पात्र हुन् । जिल्लाका अन्य भेगमा समेत विकाससँगै बजार विस्तार हुँदै जान थालेपछि उद्योग बाणिज्य संघ नारायणगढलाई सानो दायरामा नराखेर फराकिलो र जिल्लाब्यापी बनाउन सुवेदीले महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै पहलकदमीमा उद्योग बाणिज्य संघ माडी इकाई, उद्योग बाणिज्य संघ खैरहनी इकाई र उद्योग बाणिज्य संघ इच्छाकामना इकाई गठन गरिएको हो । उद्योग बाणिज्य संघ चितवनलाई जिल्लाभर फैलाउन सुवेदीको महत्वपूर्ण योगदान र भूमिका छ । सुवेदी कै सोही योगदानका कारणले संघको सदस्य संख्या आज झण्डै ४ हजार पुगेको छ । संघ भित्र आर्थिक पारदर्शीता कायम गर्न पनि सुवेदीले महत्वपूर्ण योगदान गरेका छन् । संघले हरेक महिना गर्ने आम्दानी र खर्चको अनुमोदन कार्यसमिति बैठकमार्फत गर्ने व्यवस्था उनकै पहलमा भएको हो । उद्योग व्यवसायीहरूलाई परेका पिरमर्का र समस्यामा तुरुन्तै पुगिहाल्ने सुवेदीले व्यवसायीहरूको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न अस्पतालहरूमा छुट सुविधा उपलब्ध गराउने सम्झौता गरेका छन् । युवा व्यवसायी तथा उद्यमी तयार गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मिलेर बिजनेश इनक्यूबेशन सेन्टरमार्फत बुटक्याम्प सञ्चालनमा सहकार्य गर्ने काम अगाडि बढेको छ । संघका सदस्यता तथा नविकरणका लागि एप्स तयार गर्नेदेखि आन्तरिक राजश्व कार्यालय भरतपुरमा कर परामर्श तथा सहजीकरण केन्द्र स्थापना गर्न ठोस योजना अनुरूप काम अगाडि बढाउन सुवेदीको महत्वपूर्ण भूमिका छ ।
‘मैंले झण्डैं २० बर्षदेखि अनवरत रूपमा उद्योग बाणिज्य संघ चितवनमा बसेर व्यवसायीहरुको हक र हितमा लाग्दै संघलाई जिल्लाव्यापी रुपमा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छु, मेरो त्याग, तपस्या, अथक मेहनत र महत्वपूर्ण समय संघका लागि खर्चिएको छु ।’ अध्यक्षका उम्मेदवार सुवेदीले भने ‘कार्यसमिति सदस्य हुँदै बरिष्ठ उपाध्यक्षसम्म तपाईहरुले नै बनाउनुभएको हो, आशा छ यहाँहरुले अमूल्य मत दिएर हाम्रो टिमलाई विजयी गराउनुहुनेछ ।’
विभिन्न एक दर्जन सामाजिक संघसंस्थामा विभिन्न भूमिका रहेर काम गरिरहेका समाजसेवी सुवेदीको टिममा युवाहरु राजेन्द्र ओली बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेका छन् । ओली उद्योग बाणिज्य संघका प्लानर मानिन्छन् । संघमा नयाँ नयाँ योजना बनाउन, सहकार्य गर्न र सबैभन्दा पोटेन्सिल नै ओली हुन् । सुवेदीको प्यानलमा अनुभवले खारिएका अशोक अधिकारी र नारायण प्रधान र राजन पिया उपाध्यक्ष उम्मेदवार छन् । खारिएको, अनुभवी र पौरखी सुवेदीको प्यानलसँग युवा व्यवसायीहरुको कुशल संयोजन देख्न सकिन्छ ।
अव्यवस्थित बजार र फुटपाथलाई व्यवस्थित बनाउँदै पार्किङ्गको उचित व्यवस्थापनमा पहल र सहकार्य गर्ने, आर्थिक शिथिलता भोगेर पलायन हुने खतरामा रहेका व्यवसायीलाई कर, घर भाडा तथा बैंकिङ्ग समस्या समाधान र राहातका लागि पहल गर्ने, व्यवसाय, घरवाहल,विज्ञापन कर तथा राजश्व तथा अन्तःशुल्क सम्बन्धी समस्या हल गर्न पहलकदमी र नेतृत्व लिने, आन्तरिक राजश्व कार्यालयमा राजश्व परामर्श तथा सहायक कक्ष पुनः स्थापना गर्ने, व्यवसायी राहात कोषमा क्षतिपूर्ति र राहातको रकम बृद्धि गर्ने लगायतका प्रतिवद्दता यो समूहले गरेको छ । सुवेदीको प्यालनमा महिला उद्यमी कार्यसमिती सदस्यमा सुनिता लिगल कर्माचार्य, उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, कृष्णकुमार महतो र सन्तोष देवकोटा छन् । यस्तैं, सुवेदीको प्यानलको बाणिज्यतर्फ अस्मिता तिमिल्सिना, गौरव श्रेष्ठ,नरेश खनाल, विष्णु लम्साल, मुकुन्दप्रसाद गौतम, श्रीकृष्ण लम्साल सदस्य उम्मेदवार रहेका छन् । पुस २१ गते संघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

Subcategories