News

पौष १३, सौराहा । तस्विर कोमल चन्द्र भगत ।  चितवनको पर्यटकीय नगरी सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सवको चौथो दिन शुक्रबार एक कार्यक्रमका बीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा व्यक्तिगत हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो । क्षेत्रीय होटल संघ चितवनको अयोजनामा पौष १० गतेदेखि आयोजना गरिएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई चामल र भेलीको खिर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजा, मेवा लगायतका फलफूल दिइएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतले पुस १० गते उद्घाटन गरेको महोत्सवमा यसअघि हात्ती सुन्दरी प्रतियोगिता र डुंगादौड प्रतियोगिता सम्पन्न भैसकेको छ ।

जसअनुसार हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेकी थिइ भने डुंगा दौडमा कालिका नगरपालिका प्रथम भएको थियो । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनमा पर्यटनको सम्भावना र चुनौती’सम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्वधनात्मक कार्यक्रमलगायतका कार्यक्रम समावेश छन् । महोत्सव सुरु भएपछि गन्तव्य अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ । अंग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् । कोरोनाका कारण तीन वर्ष रोकिएको चितवन हात्ती महोत्सवका गतिविधिलाई केही परिमार्जन गरी फेरि सुरु गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

चालु आर्थिक वर्ष सुरु भएपछि सौराहामा दैनिक एक हजार २०० बढी पर्यटक भित्रिको तथ्याङ्क छ । कोरोना महामारीपछि सबैभन्दा धेरै विदेशी पर्यटक अहिले आएको संघका अध्यक्ष गिरीले बताए । अहिले सौराहाका होटलहरू भरिभराउ छन् । महोत्सवका कारण विदेशी पर्यटकहरूले बसाई लम्ब्याएका छन् भने स्वदेशी पर्यटकहरू दुई रात चार दिन बस्ने गरी सौराहा आएको अध्यक्ष गिरीले जानकारी दिए । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह–आयोजक रहेको यो महोत्सवमा नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय प्रवद्र्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् । महोत्सव शनिबार (भोलि) समापन हुनेछ ।

 

 

पौष १३, रत्ननगर ।

 

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्ननर महोत्सव हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ । कोरोना महामारीको कारण सिर्जित स्वास्थ्य र आर्थिक संकटबाट तंग्रिन नभ्याउदै देशमा सुरु भएको चरम आर्थिक मन्दीले यतिखेर देशको औद्योगिक एबं व्यवसायिक क्षेत्र अभुतपूर्व संकटबाट गुज्रिरहेको छ । अहिले देशको अधिकांश आर्थिक सूचकहरु नकारात्मक छन् । विगत देखिनै रत्ननगर उद्योग वाणिज्य संघले नेपाली उत्पादनहरुको बजार प्रवद्र्धन साथै स्थानीय कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकास र विस्तारमा अग्रसर रहि ११ औं पटक महोत्सव सफलता पूर्बक सम्पन्न गरिसकेको छ । यस वर्ष महोत्सवलाई अझै परिष्कृत र परिमार्जन सहित रत्ननगर नगरपालिकाको संरक्षकत्व र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यहि पौष २६ देखि माघ ८ गते सम्म रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा १२ औं संस्करणको रुपमा रत्ननगर महोत्सव–२०८० को आयोजना गर्न लागिएको हो ।
रत्ननगर महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवन सौराहाको मुल द्धार रत्ननगरमा हुने यस महोत्सवले विशेष सामाजिक एवं सांस्कृतिक महत्व बोकेको छ । यसले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबद्र्धनलाई प्रोत्साहन गर्नुका साथै उद्योग एवं व्यापार प्रवद्र्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवद्र्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने कुरा छर्लङ्ग छ । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । रत्ननगर महोत्सव २०८० लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको छ । चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ । चितवन कृषि उत्पादनको हिसाबले अब्बल जिल्लाको रुपमा सावित हुँदै आएको छ । महोत्सवमा कृषि उत्पादनलाई जोड दिएको छ । महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको छ । स्थानीय स्तरमा उत्पादित अन्नवाली मकैवाली, ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शनर बजारीकरणको व्यवस्था गरिने छ । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वि चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकार वाल संग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक संग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम, विभिन्न गोष्ठी, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने छ । यस बर्षको महोत्सवमा आर्थिक मन्दीका कारण धरासायी बन्दै गएका व्यवसायीहरुको सुुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाब पेश गरिने छ ।
महोत्सबमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्र्तगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, धार्मिक पर्यटकीय क्षेत्रहरुको भ्रमण, टिकौली होमस्टे, चेपाङ वस्ती र समाजसंग साक्षात्कार हुन पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सुचना केन्द्रको प्रचार प्रसारका व्यवस्था पनि मिलाइएको छ । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगर भित्रका धार्मिक तथा अन्य पर्यटकीय स्थलहरुको अबलोकन गरी प्रबद्र्धनको काम सुरु गरिसकेका छौं ।महोत्सवमा अटो, कृषि, शैक्षिक, पशुपंक्षी व्यवसायसंग सम्बन्धित छुट्टैे परिसर रहने छ । विगतका बर्षमा जस्तै बालबालिकाहरुका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने छ । विगतमा जस्तै महोत्सव अन्र्तगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगर नगरपालिका, सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पांचौ पटक रत्ननगर सांस्कृतिक खाना महोत्सव २०८० आयोजना गरिने छ ।
रत्ननगर महोत्सबमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति तथा स्थानीय स्तरका उदयमान तथा अवसरबाट वञ्चित प्रतिभाका कला प्रष्फुटन अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण हुने गरेको छ । यस बर्ष अझ भब्य र व्यवस्थित सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी गरिएको छ । विभिन्न आदिवासी जनजातीका भेषभुषा तथा नृत्य सहितको कला संस्कृती प्रदर्शन गरिने छ ।
महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जनजाती, धार्मिक, सांस्कृतिक, शैक्षिक तथा अन्य संघ संस्थाको सहभागितामा बाजा र झांकी सहितको शोभायात्रा निकालिने छ । चितवनको विविध गतिविधि समाविष्ट भएको “रत्ननगर महोत्सव स्मारिका” पनि प्रकाशित गरिनेछ । सुरक्षाको दृष्टिकोणले महोत्सवलाई पूर्ण अत्याधुनिक सिसिटभी बाट निरीक्षण गरिनेछ भने १० करोड बराबर विमाको व्यवस्था गरिएको छ ।


यस पटकको टिकट शुल्क सर्वसाधारण तर्फ रु.५०।— र विद्यार्थी शुल्क रु.२५।— राखिएको छ । जेष्ठ नागरिक, फरक क्षमता तथा एकल महिला लाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।साथै डिजिटल प्रविधि अपनाउदै आइएमई पेबाट अनलाईन टिकट काटीने व्यवस्था पनि मिलाइएको छ । विगतका महोत्सवहरुमा झै यस पटक पनि संचारकर्मी महानुभावहरुलाई प्रवेश सुविधाका निम्ति आ–आफ्नो संचार प्रतिष्ठानको परिचय पत्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरि रत्ननगर महोत्सव अवधिभर रत्ननगर महोत्सवको अवलोकन गर्न टिकट काटिएका दर्शकहरुलाई टिकट दर रु.५० र रु.२५।– को टिकट लिदा मौलाकालि केवुलकारबाट लिईने टिकट दर रु.५५०।– (पांच सय पचास मात्र) को टिकट दरमा र मौलाकालि केवुलकारको टिकटबाट पनि महोत्सवका टिकटमा ५०५ छुटको व्यवस्था गरिएको छ।
त्यसै गरि रत्ननगर उद्योग वाणिज्य संघका सदस्य र सदस्यका परिवारहरुलाई चितवन मेडिकल कलेज भरतपुरमा स्वास्थ्य सेवामा २० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत संघमार्फट छुटको व्यवस्थाको लागि सम्झौता भएको पनि जानकारी दिएको छ ।
चितवनको विशिष्ट पहिचानलाई नेपाली जनमानस सम्म पु¥याउन यस रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरेको रत्ननगर महोत्सव ऐतिहासिक १२औं संस्करण सम्म आइपुग्दा यस क्षेत्रकै विकासको द्योतकको रुपमा स्थापित हुँदै गइरहेको छ ।

 

पौष १२, भरतपुर। नारायणगढको क्याम्पौरमा रैथाने फुड फेष्टिबलको आयोजना हुने भएको छ । होटल व्यवसायी संघ चितवनले अंग्रेजी नयां वर्षलाई लक्षित गरी यहि पौष १४ गते देखि १८ गते सम्म फुड फेस्टिबल आयोजना गर्न लागेको आज पत्रकार सम्मलेन गरी जानकारी गराएको छ । पर्यटन तथा सुस्ताएको होटल व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले फेष्टिबल आयोजना गर्न लागेको कार्यक्रममा जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष स्थगन भए पनि चितवनकै पर्यटन प्रवद्र्धनमा फुड फेस्टिबलले योगदान पु¥याउने विश्वास रहेको होटल व्यवसायी संघ चितवनले जानकारी दिएको छ । फेष्टिबलमा पर्यटन प्रवद्र्धनमा केन्द्रित रहि विभिन्न कार्यक्रम हुनेछन् । खास गरी फेष्टिबलमा नेपाली खाना, थकाली खाना, शाकाहारी भोजनालय, चितवनको तास, स्पेशल लोकल कुखुराको सेकुवा, लोकल हांस माछाका परिकार मुख्य रुपमा रहने छ । त्यसको अलावा फुडफेस्टिवलमा मुख्य आकर्षकको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने छ । फुड फेस्टिवलको पहिलो दिन पुष १४ गते पशुपती शर्मा, प्रिति आले, सागर लम्साल (वले) लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । यसैगरी पुस १५ गते स्वप्न सुमनको साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने १६ गते द स्याडोज नेपालको प्रस्तुती रहने छ । पुस १७ गते सुवोध गौतम (एकदुमे), तारा थापा, प्रजापती पराजुली सहित स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुहुने छ । यसैगरी अन्तिम दिन पुस १८ गते अनु चौधरी, कर्णराज गिरी, ढाकाराम पौडेल, वाल कलाकार सुप्रिम मल्ल लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम तय भएको छ । फुडफेस्टिवल परिसरमा खानेपानी तथा शौचालयको उचित प्रवन्ध गरिएको छ । यसै गरि प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि फेस्टिवल परिसरमा फ्रि वाईफाई र निशुल्क पार्किङको व्यवस्था गरिएको छ ।
गोरखा ब्रुअरी प्रा.लि. मुख्य प्रयोजक रहेको छ । त्यस्ते नेपाल लिकर्स प्रा.लि. (सिग्नेचर हुस्की, सिमनमफर भोड्का) सह प्रायोजक, यति डिष्ट्रिलरी प्रा.लि. ८८४८ भोड्का, वल्डदरवार हुस्की, ग्यालेक्सी गार्डेन रिसोर्ट भरतपुर ४, यज्ञपुरी, होटल ह्याप्पी होम नारायणगढ, हस्पिटालिटी पार्टनर, भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ नारायणगढ, होटल व्यवसायी महासंघ नेपाल प्रवद्र्धक रहेको फेस्टिबलमा बोटलर्स नेपाल तराइ लिमिटेड, वल्र्डलिंक कम्युनिकेसन प्रा.लि. र सि.एन. ल्याब सहयोगी संस्थाको रुपमा रहेको छ । यस फुडफेस्टिवलमा पुस १५ र १६ गतेको लागि प्रवेश शुल्क रु ३०० तोकिएको छ भने अन्य दिनमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । यसै गरि विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत संचारकर्मी महानुभावहरुलाई प्रवेश सुविधाको निम्ति आ–आफ्नो सञ्चार प्रतिष्ठानको परिचय पत्र प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । फुडफेस्टिवलमा ५० हजार अवलोकनकर्ताको सहभगिता रहने र ५ दिनको अवधिमा करिव ५ करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ।

Subcategories