News

,पौष ९, सौराहा । तस्विर: कोमल चन्द्र भगत ।  चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबारबाट सुरु हुने १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजनामा हुने महोत्सवको नेपाल सरकारका अर्थमन्त्री डा. प्रकास शरण महतले उद्घाटन गर्ने जनाइएको छ । महोत्सव सुरु हुनुपूर्व सौराहामा विहान शोभा¥याली निकालिने आयोजकले जानकारी दिएको छ ।

चितवन हात्ती महोत्सवमा सञ्चालन गरिदै आएको गतिविधिलाई परिमार्जित गर्दै यस वर्ष यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव आयोजना गरेका हुन ।

पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म रत्ननगर नगरपालिका वडा नं. ७ मा रहेको मैनाहाचौरमा महोत्सव हुंदैछ । चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औं संस्करण सुरु गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । यस बर्षको पर्यटन महोत्सवको मुख्य आर्कषण हात्ती सुन्दरी प्रतियोगिता रहेको अध्यक्ष गिरीले बताए ।

महोत्सवलाई आर्कषक बनाउन यहाँका व्यवसायीहरुले चित्रसारी पुलदेखि नै सौराहालाई सजाएका छन् । महोत्सव स्थललाई ध्वजापतकाले सजाइएको छ ।

कोभिड १९ का कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गिरीले जानकारी दिए । चालु आर्थिक बर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । ति मध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अबलोकन गरेको तथ्याङ्कले देखाएको छ ।
कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरुले पर्यटकिय गतिविधि सुरु गरेका हुन् । साविकको हात्ती महोत्सवलाई परिमार्जन गरी यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ ।

पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृगार प्रतियोगिता, हात्ती बनभोज र डुंगा दौड प्रतियोगितालाई यथाबत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासंगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथी उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरुको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्बधनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए ।

महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रर्बद्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।

 

पौष, ७, रत्ननगर । तस्विर : कोमल चन्द्र भगत ।

चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले एक बर्षमा दुई करोड बढी आम्दानी गरेको छ । शनिवार सम्पन्न सो वनको १९औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९र८० मा दुई करोड २४ लाख ८१ हजार रूपैया आम्दानी गरेको हो । दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको सो वनले आम्दानी भन्दा बढी दुई करोड ३० लाख ६९ हजार खर्च गरेको छ । चालू आर्थिक बर्षको आम्दानीबाट गत आबको ऋण चुक्ता गर्ने गरि खर्च गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सौराहाको पर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको सो सामुदायिक वनले आम्दानीको अधिकांस हिस्सा वन संरक्षण र उपभोक्ताको गरिबी निवारणमा खर्च गर्दै आएको अध्यक्ष तामाङले बताए । हात्ती सफारीबाट ३९ लाख १० हजार, डुंगा सयरबाट १ करोड २६ लाख, नेपाली प्रवेशबाट २५ लाख १२ हजार, सरसफाई शुल्क ६ लाख ३९ हजार, मचानबाट १ लाख २४ हजार, डिभिजन वन कार्यालयबाट आम्दानी १४ लाख १४ हजार, वन बीचको साझेदारी आम्दानी ६ लाख १० हजार, नगरपालिकाबाट आम्दानी २ लाख लगायतका शीर्षकमा दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको हो । सो वनले वन व्वयवस्थापन कार्यक्रम, सामुदायिक विकास कार्यक्रम, संरक्षण शिक्षा कार्यक्रम, आयआर्जन तथा विपन्न बर्ग उत्थान कार्यक्रम, उपभोक्ता समितिको संस्थागत विकास,अन्य कार्यक्रम, पर्यापर्यटन विकासमा दुई करोड ३० लाख ६९ हजार खर्च गरेको हो । साधारण सभाको अबसरमा भूमाफियाको कब्जाबाट वन जोगाउने २१ जनालाई सम्मान गरिएको छ । भूवनेश्वर चौधरी, शिव प्रसाद आचार्य ,विश्वनाथ पौडेल, स्व। कान्छा लोप्चन, स्व। ठगुवा महतो, रामकृष्ण महतो, सोमला राउत, जनुवा राउत, स्व। जनुवा राउत, स्व. छनुवा राउत, झगरु महतो, स्व. कानुन महतो, शंकर महतो, पाण्डु महतो, विष्णु प्रसाद अर्याल, प्रकाश ढकाल, गिरीधारी चौधरी, ढुण्डीराज सिलवाल, रामु रिजाल, रामकाजी अधिकारी, रुकमिणी रिमाललाई सम्मान गरिएको थियो । त्यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रेन्जर ऋषिराम सुवेदी सहित अन्य संरक्षणकर्मी र कर्मचारीहरुलाई सम्मान गरिएको थियो । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुन प्रमुख अतिथि रहेको सो कार्यक्रममा वनका अध्यक्ष जीतु तामाङले भावी कार्ययोजना तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष आशमान लामाले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ७ का वडाध्यक्ष सजना महतो, चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर मगर, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्षराज श्रेष्ठ, क्षेत्रीय होटल संघका उपाध्यक्ष ओम प्रकाश पाण्डे, युनाईटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दीपेन्द्र खतिवडा, लगायतले मन्तव्य राखेको थियो । वनमा उपाध्यक्ष सीताराम महतोले स्वागत मन्तव्य राखेको सो कार्यक्रम कार्यसमिति सदस्य सरस्वती चालिसेले सञ्चालन गरेकी थिइन् ।

 

चितवन, पुस ६ । कोमलचन्द्र भगत ।

चितवन । तामझामका साथ सुरु गर्ने तयारी गरेर सार्वजनिक निमन्त्रणा समेत गरिसकेपछि भरतपुर महानगरले भ्रमण वर्ष २०२४ स्थगित गर्ने निर्णय गरेको छ ।महानगरको आज भएको कार्यापालिका बैठकले जनवरी १ देखि सुरु गर्ने भनी तयारी गरेको भरतपुर भ्रमण वर्षको तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । केही समय पछि गर्ने गरि अहिलेलाई स्थगित गरेको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बताए । यसअघि काठमाडौँदेखि भरतपुरसम्म भरतपुर भ्रमण वर्षको तयारी भन्दै महानगरले पटक पटक छलफल तथा बैठकहरु राखेको थियो । अहिले भरतपुर महानगरको सडक मर्मत अझै सकिएको छैन । नारायण मुग्लिन सडक पनि दिनमा ४ घण्टा बन्द गरेर मर्मत भइरहेको छ । भने, ‘नारायणगढ बुटवल सडक खण्ड पनि निर्माण सकिएको छैन, यस्तो अवस्थामा भ्रमण वर्ष सफल नहुने कार्यपालिका बैठकले निर्णय गरेको हो ।’ कार्यपालिका बैठकले आउँदो पुस २२ गते बस्ने नगरपरिषद्बाट थप कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ । महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न नीजि क्षेत्र तथा सरोकारवाले समेत सुझाव दिएका थिए । यसअघि २०८० बैशाखदेखि सुरु गर्ने भनिएको भरतपुर भ्रमण वर्ष तयारी नपुगेको भन्दै २०२४ जनवरीको लागि सारिएको थियो ।

 

Subcategories