News

 

पौष १०, रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ । महोत्सवको नेपाल सरकारका अर्थमन्त्री डा.प्रकास शरण महतले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले २०२९ सालमा जारी भएको निकुञ्ज ऐन परिर्वतन गर्ने बेला भएको बताएका छन् । उनले पुरानो निकुञ्ज ऐनले निकुञ्ज र जनता बीचको दुरी बढाउने काम गरेकाले समय अनुसार यसको परिर्वतन आवश्यक रहेको बताए । अर्थमन्त्री महतले निकुञ्ज ऐन परिर्वतनको लागि सरकारी पहल सुरु गर्ने प्रतिबद्धता जनाए । निकुञ्ज जनताको लागि र जनता निकुञ्जको अबधारणको विकास नगरी जैविक विविधताको संरक्षण हुन नसक्ने भन्दै उनले दुबैलाई दुबै आवश्यक रहेको आभाष दिलाउने गरी ऐन परिर्वतन हुनुपर्ने मन्त्री महतको भनाइ छ। निकुञ्ज ऐनले स्थानीय विकास निर्माण र समुदायको विकासमा बाधा हुन नहुने भन्दै अर्थमन्त्री महतले पुरानो ऐनले जनता र निकुञ्ज बीचको दुरी बढाएको आफुलाई लागेको बताए ।

अर्थमन्त्री महतले निकुञ्जको सुरक्षा र पर्यटनसंग जोडिएको यहाँको कलासंस्कृति संरक्षणमा सरकार कटिबन्द्ध रहेको बताए । उनले जनताको जीविकोपार्जनमा लगानी गरेर मानब वन्यजन्तुबीचको द्धन्द्ध घटाउनु पर्ने विचार व्यक्त गरे । अर्थमन्त्री महतले पूर्वी चितवनको विकासको लागि सरकारले पूर्वाधार निर्माणमा लगानी गर्ने बताए । कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले सरकारले स्रोत बाँडफाँडमा पूर्वी चितवनलाई विभेद गरेको बताए । प्रदेश सांसद कृष्णप्रसाद खनालले आर्थिक मन्दीका कारण धरासायी बनेको नेपालको व्यवसायलाई पुर्नजीवन दिन नयाँ आर्थिक नीति ल्याउन अर्थमन्त्री महतलाई आग्रह गरे । रत्ननगरका मेयर प्रलाद सापकोटाले सौराहामा १४ करोड २४ लाखको लगानीमा सुरु गरिएको नमुना सडकको काम बजेटका कारणले रोकिन सक्ने अबस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानर्कषण गराए । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व उपनिर्देशक युवराज रेग्मी, चितवन निकुञ्जका पशुप्राविधिक किरणराज रिजाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका बरिष्ट रेन्जर ऋषिराम सुवेदीलाई संरक्षण पुरस्कार प्रदान गरिएको छ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महोत्सवका संयोजक तथा संघका उपाध्यक्ष ओमप्रकार पाण्डेले महोत्सव आयोजना गर्नुको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम शुरु हुनुपुर्व विभिन्न झांकी सहितको शोभा ¥यालीले सौराहा परिक्रमा गरी कार्यक्रमस्थल पुगेको थियो ।

 

पौष १०, रत्ननगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलवार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए । उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पु¥याउन सकिने बताएका छन् । अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गरे ।

नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उनको भनाई थियो । देशमा नै काम गर्न चाहनलाई अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरुलाई आग्रह गरे । उनले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने घोषणा गरका छन् ।


पौष १०, रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । मंगलबार सम्पन्न १३ औ बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०७९÷८० मा सो संस्थाले पाँच करोड ८ लाख २ हजार रूपैया आम्दानी गर्न सफल भएको हो । १९ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र ४ करोड ६६ लाख १ हजार रूपैया आम्दानी गरेको हो । ५ करोड ८ लाख २ हजार आम्दानी गरेको सो संस्थाले २ करोड ९९ लाख ३४ हजार खर्च कटाएर २ करोड ८ लाख मुनाफा गर्न सफल भएको छ । सो संस्थाले ५२ शीर्षकमा २ करोड ९९ लाख ३४ हजार खर्च गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ । २०५८ सालमा स्थापना भएको सो संस्थामा २०८० जेठ ४ गते बछौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समायोजन गरी सेवा क्षेत्र विस्तार गरिएको थियो । १३ हजार ३३ उपभोक्ता रहेको सो संस्था अन्तर्गत संस्थागत धारा १५८, सामुहिक धारा २५६, विपन्न वर्ग धारा ८५५, निजी धारा ११ हजार ७६४ धारा संख्या रहेको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थामा अध्यक्ष माधवप्रसाद अर्यालले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम भावि कार्ययोजना, सचिव प्रताप डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक जीवनलाल नगरकोटीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष अर्यालले खानेपानीको न्यूनतम महसुल ११० वटा घटाएर ८० रूपैया कायम गरिएको र मर्मत शुल्क १० रुपैया लिने निर्णय गरिएको जानकारी दिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, संस्थापक मेयर नारायण वन, निवर्तमान उपमेयर विमला दुवाडी, नेपाली काँग्रेसकी नगर सचिव अनिता अर्याल, एमालेका नगर अध्यक्ष ईश्वरी अर्याल, माओेवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, एकीकृत समाजवादीका उपाध्यक्ष रामहरि अधिकारी, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ८ का वडाध्षक्ष कृष्ण चौधरी, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष भीष्मराज पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा स्वागत मन्तव्य राखेको सो कार्यक्रम सचिव प्रताप डल्लाकोटीले सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु, सल्लाहाकार तथा संस्थाको संस्थागत विकासमा योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो ।

Subcategories