News

२९ असोज, चितवन ।तस्विर : कोमल चन्द्र भगत ।

चितवनको पर्यटकिय नगरी सौराहामा ‘सिद्धार्थ भिलासा वनबास’ रिसोर्ट आइतवारदेखि सञ्चालनमा आएको छ । घटस्थापनाको अवसर पारेर सञ्चालनमा ल्याइएको रिसोर्ट भिलासा सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो । सुरुमा स्थानीय व्यवसायी बासु ढुंगानासहितको टिमले निर्माण गरेको रिसोर्टमा पछि सिद्धार्थ समूह मिसिएर व्यवस्थापन सहितको जिम्मेवारी लिएको छ । ४५ करोड लगानीमा बनेको भनिएको रिसोर्टमा २२ भिल्लामा ३४ कोठा रहेका छन् । परम्परागत काठ र माटो प्रयोग गरी बनाइएका कोठाहरू चराका नामबाट नामकरण गरिएका छन् । १० वटाभन्दा बढी कोठा अपाङ्गमैत्री छन् । होटल अपांगता भएकाहरुको लागि बनेको रहेछ भन्ने बुझाउनको लागि अपांगमैत्री कोठा बनाइएको वनबास चितवन प्रालिका अध्यक्ष बासु ढुंगानाले बताउनुभयो । कन्फ्रेन्स हल र रेष्टुरेन्टमा उनीहरू सजिलै जानसक्ने ¥याम बनाइएको उहांको भनाइ छ । होटलमा दुईवटा हलहरु छन् । एउटामा ८० देखि १०० जनासम्म र अर्कोमा ३० देखि ५० जनासम्म अट्ने क्षमताका छन् । रिसोर्ट सौराहा बजारबाट तीन किलोमिटर पश्चिममा छ । जंगलको बीचमा रहेको यो रिसोर्टका संरचनामा नेपालको प्राचिन कला संस्कृति झल्किने गरी आकर्षक कला कुँदिएको छ । यहाँ बस्न आउने विदेशी पर्यटकका लागि दुई रात तीन दिनको प्याकेजका लागि २५० देखि ४ सय डलरसम्म शुल्क राखिएको छ । नेपाली पर्यटकको जोडीलाई भने एक रात बसेको र बिहानको ब्रेक फास्टसहित दश हजार रुपैयाँसम्म लिने रिसोर्टले जनाएको छ । रिसोर्ट ३ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा माछा मार्न सक्नेछन् । विभिन्न प्रजातिका चराहरुले खाने फल लाग्ने ५० भन्दा बढी प्रजातिका विरुवाहरू रिसोर्टको डिलमा हुर्काइएको छ । सौराहाको हात्तीसार नजिकै भएकाले कोठाहरुबाट हात्ती देख्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने जनाएको छ । रिसोर्टमा स्विमिङ पुल, मसाज सहितको स्पा पनि रहनेछ । सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बताउनुभयो । होटलको चेन बिजनेस भएकाले पर्यटकलाई प्याकेज सुविधा दिन सकिने उहांको भनाइ छ ।

सिद्धार्थ ग्रुपले देशका विभिन्न भागमा सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु सञ्चालन गरेको छ । भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ । यही समूहले नेपालगञ्ज र सुर्खेतमा चारतारे सिद्धार्थ होटल तथा कपिलवस्तुको चन्द्रौटामा ‘सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीमा सिद्धार्थ रिसोर्ट र पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङटारमा सिद्धार्थ रिभरसाइड रिसोर्ट पनि रहेका छन् । बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् । बुटवल, नेपालगञ्ज, तीनकुने, घोबिघाट र पुरानो बानेश्वरमा पनि सिद्धार्थ कटेज सञ्चालनमा छन् ।

 

हेटौंडा, असोज २७ । 

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको कार्यालयमा तालावन्दी गरेको छ । पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण जनाउँदै तालावन्दी गरेको हो । प्रेस चौतारी बागमती प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा प्रेस चौतारीका केन्द्रीय सदस्य हरि हुमागाई, चौतारी बागमती प्रदेश कमिटीका महासचिब र सदस्यहरु, चौतारीका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतकाले महासंघको कार्यालयमा अनिश्चित कालका लागि तालावन्दी गरेका हुन् । महासंघमा नेतृत्वमा रहनेहरु र पदाधिकारीहरुले आफ्नो संगठन निकट निष्कृय पत्रकारहरुको सदस्यता नवीकरण गर्ने तर प्रेस चौतारीमा आस्था राख्ने क्रियाशिल पत्रकारहरुको सदस्यता नवीकरण नगर्ने गरी प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशिल पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय रहेको प्रेसचौतारीले ठहर गरेको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरुसँग बसेर गरेको सहमति लत्याएको छ । चौतारीसंग गरेको सहमतिको प्रयास गरिएको प्रपञ्च रचेर आफ्नो मनोगत निर्णय कार्यान्वयन गराउन सिफारिस गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसको घोर बिरोध रहेको कार्यबाहक अध्यक्ष खतिवडाले बताए ।

जिल्ला समितिबाट सर्वसम्मत सहमति भई सदस्यता नवीकरण गर्न सिफारीस गरिएका पत्रकारहरुको नामावली काटेर जिल्लाबाट सिफारिस नभएकाहरुको नाम प्रदेश समितिबाट थप्ने कार्य भएको छ । केन्द्रीय समितिबाट जारी भएको मापदण्डलाई धुलीसात बनाउँदै प्रदेश समितिले मनोगत रुपमा गरेको सिफारिस कार्यान्वयन नगर्न चौतारीले केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।

प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने र सदस्यता नवीकरण नगर्ने महासंघ प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्कृय पत्रकारहरुको नवीकरण पनि गर्नेगरी रचिएको षडयन्त्र प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीलाई कुनै हालतमा स्वीकार्य नभएको तालावन्दी पछी जारी बिज्ञप्तीमा उल्लेख छ । महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने प्रेसचौतारीले जनाएको छ ।

 

काठमाडौँ, असोज २७ ।
पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको उडान अनुमति  (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि मनाङ एयरको एओसी निलम्बन गरिएको हो । प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर आज बिहान जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाइँको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२३’ अनुसार हालसम्म नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । ती दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । पछिल्ला तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन् । दुवै दुर्घटना सोलुखुम्बुमा भएका हुन् । गत असार २६ गते मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित छजनाको मृत्यु भएको थियो ।

Subcategories