News

२७ असोज,चितवन । पवित्रा ढकाल । तस्विर : कोमल चन्द्र भगत
गत निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट संघीय चुनाव लडेका डा. भोजराज अधिकारी चितवनको दक्षिणी माडी नगरपालिका–९ को हनुमानझुलामा शनिबार स्वास्थ्य शिविर गरेका छन्। डा. अधिकारीले बाँदरझुलास्थित आधारभूत स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन समेत गरेका छन् । प्रदेश सांसद ठाकुरप्रसाद ढकाल सहित अनुगमनमा पुगेका डा. अधिकारीले आफूले निर्वाचनताका हनुमानझुलावासी माझ गरेको वाचा नबिर्सेको र सोहीअनुसार स्वास्थ्य शिविरसहित आएको बताए । आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब नभएको हुँदा यहाँ ल्याब स्थापना गर्न र ल्याब सेवा तीन महिना भित्र उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

जनशक्ति उपलब्ध गराइदिन माडी नगरपालिका र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई पहल गरिदिन आग्रह पनि गरे । यहाँका जनताले एक्सरे सेवा माग गरे पनि ल्याब नभइकन आभारभूत स्वास्थ्यसेवा पूरा नहुने भन्दै उनले ल्याब स्थापनाका लागि तीन महिना भित्र वाचा पूरा गर्ने प्रतिबद्धता गरेका छन् । तीन महिनाभित्र उक्त आधारभूत स्वास्थ्यकेन्द्रमा ल्याब सेवा सुरु गर्ने र यहाँ प्रसुति सेवालाई थप व्यवस्थित गराउने उनले बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद ठाकुरप्रसाद ढकालले निकुञ्ज ऐनको कारण यहाँ विकासमा बाधा उत्पन्न भएको भन्दै यसको परिमार्जनका लागि आफू र प्रधानमन्त्री प्रचण्ड तदारुकताका साथ लागिपरेको जानकारी गराए । उनले आफूले हनुमानझुलाका बासिन्दाका अप्ठेरालाई ध्यानमा राखेर एम्बुलेन्स सेवा सुरु गरिसकेको र नयाँ भवन आफू पहिला मेयर हुँदा नै निर्माण गरेको जानकारी दिए । यहाँ सेवासुविधा थप गरी र आधारभूत स्वास्थ्यकेन्द्रलाई छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै निकुञ्जको मध्यवर्ती क्षेत्र स्थापना अगाडि नै यहाँ बस्ती भएको हुनाले निकुञ्जले यो ठाउँलाई अतिक्रमित क्षेत्र भन्दा समस्या आएको बताए ।  स्वास्थ्य शिविरमा ५१४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए ।

सोही सन्दर्भमा अधिकारीले हनुमानझुला आधारभूत विद्यालयलाई खेलकूद सामग्री समेत हस्तान्तरण गरेका छन् । । शिविरमा मधुमेह, प्रेसर, पेट दुख्ने, हाडजोर्नी, ज्वरो लगायतका रोज जांच गरिएको थियो भने भिडियो एक्सरे, इसिजी, दिसा, पिसाव, रगत परिक्षण गरिएको थियो । शिविरमा निशुल्क औसधी वितरण गरिएको थियो । कार्यक्रम राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन जिल्ला समिति चितवनको आयोजनामा भएको स्वास्थ्य शिविरको प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ जिल्ला समन्वय समिति चितवनले समन्वय गरेको थियो ।

 

 

असोज २३, भरतपुर ।
चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्ट्रिकजन्य फूल,माला र गुच्छाको विक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै उक्त कार्य नगर्न भनेको हो । नगर कार्यापालिकाको असोज २१ गते बसेको निर्णय अनुसार नगर क्षेत्र भित्र वातावरणमैत्री प्राकृतिक फूल, माला र गुच्छा प्रशस्तै पाइने भएकोले प्लाष्टिकजन्य फुल माला विक्रीवितरण गर्न रोक लगाएको जनाएको छ ।
प्लाष्ट्रिकजन्य सामाग्री बातावरण प्रतिकुल हुन भएकोले विक्री वितरण नगर्न भनिएको छ । यस्तो कार्य गरेमा कानून बमोजिम कारर्वाही गर्ने नगरपालिकाले जनाएको छ ।

 

 

 

 

असोज २३, भरतपुर । 
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २४ को नेपाली काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ । वडा सभापति इन्द्र बहादुर लामाको नेतृत्वमा क्षेत्रिय प्रतिनिधि लाल बहादुर विक, जनप्रतिनिधि सुनिल अर्नेल, कार्यसमिति सचिव रामेश्वर चौधरी, क्षेत्रिय प्रतिनिधि तुल बहादुर मगर, पम बहादुर विक, श्याम बहादुर मुक्तानसहित ४७ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
मंगलबार भरतपुर वडा नम्बर २४ र २५ मा रहेको देविस्थान पार्कमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका २८३ जनालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गर्नुभयो ।
यस्तै नेकपा एमाले परित्याग गरी वडा सहसचिव तेजबहादुर थापा, पूर्वजनप्रतिनिधि अविर बहादुर विक, हिरामाया विक, शान्ति एकता टोलका अध्यक्ष कृष्ण विकलगायत १ सय १० जना माओवादी केन्द्र प्रवेश गरेका छन् ।
राप्रपाबाट ३० जना, थारु समाजबाट २५ जना, रास्वपाबाट १० जना र भूपू सैनिक संघबाट अध्यक्ष नमबहादुर गोदार र शंकरबहादुर अर्यालको नेतृत्व २० जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र प्रवेश गरेकालाई स्वागत गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य दाहालले भरतपुर २४ को समस्या समधान गर्न तत्पर रहेको उल्लेख गर्नुभयो। उहाँले माओवादी पार्टी दुःख सुखको पार्टी भएकाले जनताको हकअधिकारी प्रत्याभूत गर्न अग्रसर रहेको बताउनुभयो । भरतपुर २४ मा रहेका धेरै समस्याहरु समधान भईसकेकाले अब लालपुर्जा वितरणको कार्य बाँकी रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य दाहालले भरतपुर २४ मा केही दिनमै ७२ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई लालपुँर्जा वितरणको तयारीमा रहेको बताउनुभयो ।
माओवादी पार्टीले जनयुद्धको बलमा राजनीतिक परिवर्तन गरी शान्ति प्रकृयामा आई सामाजिक र न्यायिक परिवर्तनलाई आफ्नो मुख्य मुद्धाको रुपमा अगाडि बढाउदै आएको जिकिर पनि गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेशका सांसद ईश्वर सापकोटा, नेकपा माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वाईसियल नेपालका केन्द्रीय सदस्य तथा वडा नम्बर २४ का अध्यक्ष रामु गोदारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Subcategories