News

माघ ४, चितवन ।
माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न  बिहान सरसफाइ गरिएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली सेना, क्षेत्र विकास समितिका सदस्य तथा कर्मचारी भएर सरसफाइ गरिएको जानकारी दिए । उनको अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म देवघाटको खोला किनार, स्नान क्षेत्र, नदीको बगर, बाटो, प्रवेश गेट, पुल क्षेत्र, तनहुँको बेनी क्षेत्रमा सरसफाइ गरिएको छ । त्यस्तै संकलन गरेर जम्मा पारिएको सबै फोहोर उठाउन भरतपुर महानगरपालिकाले ट्याक्टर पठाएको थियो ।

चितवन, माघ २ . यति एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य स्वर्गीय त्रिभुवन पौडेलको सम्झनामा चितवनमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्वर्गीय त्रिभुवन पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वल कार्यक्रम गरेको हो । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिव सिर्जना अर्याल, प्रेस सेन्टरका उपाध्याक्ष सुरेशचन्द्र अधिकारी, प्रेस यूनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासंघ चितवनका पूर्व अध्यक्षहरु जनक अर्याल, कृष्ण गिरी, उपाध्यक्ष रमेशकुमार पौडेल, पूर्व सचिव शान्ता अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम निमित्त सचिव आनन्द पोख्रेलले सञ्चालन गरेका थिए । प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका पौडेल आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य भएका थिए। २०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गरेका थिए।

 

 

 

 

 

 

चितवन, माघ २ ।

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरबाट कविता स्रष्टाहरुलाई भाग लिन आह्वान गरिएकोमा विश्वकर्मा पहिलो भएका हुन् ।
देशभरबाट प्राप्त ८७ वटा कवितामध्ये उत्कृष्ट १२ कवितालाई छनौट गरेर सोमबार स्रस्टाबाटै कविता वाचन गराएर प्रतिस्पर्धा गरिएको थियो । छनौटमा परेका ११ जना स्रष्टालाई पछि पार्दै धरानका विश्वकर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । सो प्रतियोगितामा विश्वकर्माले ‘एक भेट भरियासँग’ शीर्षकको कविता वाचन गरेका थिए । प्रतियोगितामा बाराका स्रस्टा अभिषेक ओझा दोस्रो भएका छन् । ओझाले वाचन गरेको ‘वृद्धाश्रमबाट आएको चिठी’ शीर्षकको कविता दोस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार हात पारे । त्यसैगरी, प्रतियोगितामा कास्कीका स्रष्टा रोशन तिमिल्सिना तेस्रो भएका छन् । ‘लालामीको सूचना’ शीर्षकको कविताले तेस्रो स्थान हासिल गर्दै तिमिल्सिनाले १० हजार रुपैयाँ पुरसकार प्राप्त गरेका छन् । प्रतियोगितामा सप्तरीकी स्रष्टा रोमा लम्साल नुरा तथा चितवनका लालकाजी श्रेष्ठले प्रोत्साहत पुरस्कार प्राप्त गरेका छन् । लम्सालको ‘पसिनाको अक्षरमा देश’ तथा श्रेष्ठको ‘विश्वास’ शीर्षकको कविताले प्रोत्साहनस्वरुप नगद पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । प्रतियोगिताको निर्णयकमा समालोचक डा धनेश्वर भट्टराई, डा केशवराज चालिसे र साहित्यकार सुरेन्द्र अस्तफल रहेका थिए ।

 

Subcategories