News


चितवन । भरतपुर वडा नम्बर ३ र ४ को सिमानामा पर्ने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरण गर्ने कार्यको शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको उद्घाटन गर्नुभयो।
भरतपुर महानगरपालिकाको गौरवको आयोजना समावेश भएको पुङ्गी खोला सौन्दर्यकरणको पहिलो चरणको निर्माण कार्य नारायणी र पुङ्गी खोलाको दोभानबाट सुरु भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले पुङ्गी र केरुङ् ड्रेन महानगरपालिकाको गौरबको आयोजना भएको बताउनुभयो।
भरतपुरलाई सुन्दर र हेर्न लायक सहर बनाउने उद्देश्यअनुसार यी दुई खोलालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको प्रमुख दाहालले स्पष्ट पार्नुभयो। करिब ६ किलोमिटरमा रहेको पुङ्गी खोलाको १० महिनाअघि सिमाङ्कनको कार्य सुरु भएको थियो । भरतपुरको वडा नम्बर ११, २, ३  र ४ नम्बर भएर बघ्ने पुंगी खोलको हालसम्म ५ किमी सिमाङ्कन गर्ने काम सकिएको छ । बाँकी वडा नम्बर २ मा घर, टहरा परेकाले सिमाङ्कनमा सहज भएको छ ।
पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन्।
यसका लागि रु १ करोड ७५ लाख र महानगरपालिकाको रु २ करोड २२ लाख ७४ हजार गरी रु ३ करोड ९७ लाखको लागनीमा निर्माण कार्य हुन लागेको हो ।
निर्माण कम्पनी टिएसएन गिरवान जेभी जोरपाटी काठमाडौँले ११ महिनामा काम सक्ने गरी रु २ करोड ४९ लाख ठेक्का पाएको छ ।
पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो । भरतपुरका सहरी क्षेत्रमा आकासे पानी व्यवस्थापन गर्न यी दुई नदीलाई वार्षिक रुपमा बजेट विनियोजन गर्दै निर्माण कार्य पुरा गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, ४ नम्बर वडा अध्यक्ष अर्पण पोखरेल, ११ का अध्यक्ष कमल मल्ल र १२ नम्बर वडाका अध्यक्ष लेखराज पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम पुंगी खोला संरक्षण समितिका संयोजक विकास थापाको अध्यक्षतामा भएको थियो ।

 

माघ १३, रत्ननगर ।

तस्विर : कोमलचन्द्र भगत ।
चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महोत्सव हुँदैछ । आयोजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको छ । नेपाली चलचित्रको विकास र सौराहा सहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधारु भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरु रहने छन् । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाखको कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ। पाँच दिन सम्म चल्ने महोत्सवमा चलचित्र र पर्यटनको विकासको लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका बारेमा शुष्म रुपमा छलफल र बहस गरी नीतिगत सुधारको लागि सरकारको ध्यानर्कषण गराइने उनको भनाई छ । रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा ८ राष्ट्रका चलचित्रकर्मीहरुको उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नवीनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, साँस्कृतिक आदान प्रदानलाई बढावा दिने र दक्षिण एशियाली कथाकथनको समृद्धिको उत्सबका रुपमा कथानाक चलचित्र, वृतचित्र, लघुचलचित्र बीच प्रतिस्पर्धा गराइने छ । महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ । राष्ट्रिय तथा अन्तराष्ट्रियका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहन सो महोत्सवको अन्य सहयोगी संस्थाको रुपम चलचित्र विकास वोर्ड, नेपाल पर्यटन वोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाँउपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाँउपालिका, हेटौडा उपमानहनगरपालिका छन् । महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्क स्तरका चलचित्रहरुको प्रर्दशन, चलचित्रकर्मीहरुको जीवनी सम्बन्धी साक्षतकार, नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार र पर्यटन विकास सम्बन्धी अन्तर्क्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी चितवन र पश्चिम चितवनका खेलाडी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए । महोत्सव मुल समारोह समितिका सहसंयोजक तथा सौराहाकम व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तराष्ट्रिय स्तरको फिल्म फेस्टिवलले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने बताए । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाई, सरोज विरही, ज्योती मगर, कृष्ण कँडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा व्याण्डकको प्रस्तुती रहने छ। क्याराभान नेपालले यस अघि विरगन्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शन सम्बन्धी फेस्टिवल गरेको थियो । पत्रकार सम्मेलन महोत्सव मुल समारोह समितिकी सदस्य शान्ति पाख्रिनले सञ्चालन गरेकी थिइन् ।


माघ १३, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताउनुभएको छ ।
प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको प्रमुख दाहालले बताउनुभयो ।
यस्तै बुवा–आमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उहाँले बताउनुभयो ।
प्रमुख दाहालले प्रहरी नागरिक साझेदारी अभियान नेपाल ९पिटुसिटु०ले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरी पुनःस्थापन गर्ने काम गरेकोप्रति उच्च प्रशंसा गर्नुभयो ।
‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ, उहाँले भन्नुभयो,‘भरतपुर महानगरबाट ठुलो सहयोग भएको छैन् । संवेदनशील र अवस्था अनुसार अझै बढी सहयोग गर्नुपर्छ ।यहाँहरु खुसी भएपनि म भने खुसी छैन ।’
प्रमुख दाहालले पिटुसिटुको विकासका लागि आगामी दिनमा महानगर तत्पर र अग्रसर रहने प्रविद्धता व्यक्त गर्नुभयो ।
महानगरपालिकाले पिटुसिटुमा रहेका विगत ३ वर्षदेखि वार्षिक रुपमा प्रति बालबालिका रु ४० हजार सहयोग गर्दै आईरहेको छ । नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा ७ वर्षअघि सञ्चालनमा ल्याएको केन्द्रमा हाल ९ जना बालबालिका आश्रित छन् ।
भरतपुर महानगरपालिकाले यहाँका सुधार गृह तथा पुनःस्थापना केन्द्रलाई नियमन गर्न उपप्रमुखको संयोजकत्वमा कार्यविधि र मापदण्ड निर्माण गरी काम गर्दै आइरहेको प्रमुख दाहालले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले बालबालिकाहरु विश्वमै संवेदनशील र जोखिम मध्येको समूहमा पर्ने बताउनुभयो । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधै उच्च जोखिममा जाने हिंसा शोषण र दूरव्यवहार सहन बाध्य हुने गरेको उल्लेख गर्नुभयो । उनीहरु नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने व्यस्कले जस्तो विरोध गर्न पनि नसक्ने उहाँको भनाइ छ । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्ष कुँवरले बताउनुभयो ।
पिटुसिटु कुनै पनि सडक बालबालिका सडकमा बस्न बाध्य हुन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो ।
कार्यक्रममा पिटुसिटु नेपालको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा महानिरीक्षक कुँवरलाई साधारण सभा तथा अधिवेशनको अवसरमा सम्मान पनि गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष निर्देश सेढाईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

Subcategories