News

चितवन, १२ माघ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जाने ७५ प्रतिशत बिरामीलाई निजी अस्पताल जान प्रोत्साहन गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । भ्रष्टाचार विरुद्ध अभियान चितवनले गरेको गरेको अध्ययन सर्वेक्षणमा अस्पतालको नियमित रुपमा कार्यचुस्तता सञ्चालन प्रति ८० प्रतिशतले अविश्वास व्यक्त गरेका हुन् । अस्पतालमा सेवा लिन आएका र सेवा लिएर फर्किएका एक सय जना सेवाग्राहीहरुसँग प्राप्त मतका आधारमा सर्वेक्षण तयार गरिएको अभियानले जनाएको छ । सर्वेक्षणमा सहभागी मध्ये शतप्रतिशतले अस्पतालका विभिन्न ठाउँमा एक पटकमा एक घण्टाभन्दा बढी समय लाईनमा बस्नु परेको जनाएका छन् । सेवा लिन जाँदा कर्मचारी, डाक्टर, नर्सको व्यवहारप्रति ८० प्रतिशतले असन्तुष्टि जनाएका छन् भने २० प्रतिशतले ठीकै भन्ने जनाएका छन् । सन्तुष्ट हुने एक जना पनि छैनन् । समग्रतामा ७५ प्रतिशत बिरामी अस्पतालप्रति असन्तुष्ट भेटिए भने २५ प्रतिशतले ठीकै भन्ने जवाफ दिए । अस्पतालप्रति सन्तुष्ट हुनेको संख्या पनि शुन्य रह्यो ।

यसैगरी मध्यस्तकर्ता वा कार्यालयकै कर्मचारीको सहयोगमा सेवा लिने ६० प्रतिशत, नेता र ठूलाबडाको सहयोगमा २० प्रतिशत र कसैको सहयोग नलिईकन सेवा लिनेको संख्या केवल २० प्रतिशत मात्रै रहेको उक्त सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी मध्ये अस्पतालको काम गर्ने प्रणाली र प्रक्रिया जटिल रहेको ४० प्रतिशतले बताएका थिए भने ठीकै छ भन्ने ६० र अति सरल छ भन्ने मान्छे भेटिएन् । अस्पतालले आम्दानी खर्चको विवरण सूचना पार्टीमा टाँसेको हुनु पर्नेमा यस्तो नभेटिएको उक्त सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणमा अस्पतालका कमजोर पक्ष र सुधार गर्नुपर्ने पक्षहरु केलाईएको छ । जसमा अस्पतालको आवास गृहमा व्यापक अनियमितता भएको, गैंडाकोटमा भएको गेष्टहाउसको अवस्था दयनीय बन्दै गएको, अस्पतालमा भएका मेसिनहरु बिग्रियो भनेर लामो समयसम्म बन्दैन भन्ने गरेको र निजी अस्पतालहरुमा जान बाध्य बनाईएको उल्लेख छ ।

यसैगरी समयमै रिपोर्ट नआउने गरेको, बिरामीले प्रयोग गर्ने भनी ल्याईएको औषधिहरु हराउने गरेको, अस्पतालभित्रका सामग्रीहरुको दुरुपयोग हुने गरेको प्रतिवेदनमा औल्याईएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा समन्वयकर्ता संस्था भ्रष्टाचार विरुद्ध अभियान चितवनले उक्त प्रतिवेदन प्रस्तुत गरेको हो । सो क्रममा सहभागीहरुले अस्पतालप्रति गुनासै गुनासा गरेका थिए । नेपाली कांग्रेसका स्थानीय नेता बिनोद ढकालले आवास भवन राजनीतिक शक्तिको आडमा दुरुपयोग भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “अस्पतालबाट जागिर छोडेको १० वर्षसम्म पनि आवासमै बसेका छन् ।” उहाँले होटलमा कार्यक्रम र बैठक गरेर रक्सीको समेत बिल बनाएर आउने गरेको गम्भीर आरोप लगाउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो “अस्पतालको कार्यसमितिको, पदाधिकारीको बैठक होटलमा बसेर रक्सीको बिल अस्पतालको आर्थिक शाखामा पेश गरेर भुक्तानी गरिएको छ, यसको जिम्मेवार को ?” उहाँले पेट्रोलको कुपन शक्तिको आडमा वितरण गर्ने गरिएको भन्दै सार्वजनिक गर्न चुनौती दिनुभयो ।

भरतपुर ९ का रास्वपा नेता यज्ञराज पौडेलले पब्लिक रिपोर्ट कार्डका आधारमा अस्पताल फेल भएको बताउनुभयो । उहाँले चिकित्सकहरु निजी अस्पताल धाउने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यहाँका उपकरण बिग्रिएको देखाएर बाहिर परीक्षण गर्न पठाउने गरेको बताउनुभयो ।

सेवा निवृत्ति नर्स सीता ज्ञवालीले डाक्टर, कर्मचारी र एम्बुलेन्स चालकलाई कमिसन आउँछ भनेर पुरानो मेडिकल कलेजमा बिरामी लैजाने गरेको बताउनुभयो । उहाँले आफू विगतमा सोही अस्पतालमा कार्यरत रहेको भन्दै कमिशनको परिपाटी रहेको बताउनुभयो । चितवन २ का सांसद रवि लामिछानेको सचिवालयका हेमन्त बरालले अस्पताललाई पेपरलेस बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालभित्र कहाँ कसरी सेवा लिने भन्ने बारेमा जानकारी दिन सेवा केन्द्र सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

भरतपुर ४ का शालिग्राम आचार्यले अस्पतालभित्रका कर्मचारीहरु आफ्नो पार्टीको नेतृत्व आउँदा खुशी हुने गरेको भन्दै अस्पतालभित्रै कर्मचारीबीच सत्तापक्ष र प्रतिपक्ष जस्तो व्यवहार गरिने गरेको बताउनुभयो । भरतपुर २ का नवराज ढकालले अस्पतालप्रति उठेका प्रश्नहरुको झाराटार्ने खालको जवाफ आउने गरेको बताउनुभयो ।

स्थानीय इन्द्रप्रसाद रिजालले मेमोग्राफ मेसिन विगत डेढ वर्षदेखि बिग्रिएको भन्दै तीन वटा सिटी स्क्यान एकै पटक बिग्रने गरेको बताउनुभयो । बायोस्पीको रिपोर्ट आउन तीन महिना कुर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै उहाँले छिटो हुने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

दीपक ढकालले बीमाको औषधि अस्पतालभित्र नपाईने गरेको भन्दै महंगो औषधि भित्र भए पनि बाहिर किन्न पठाउने गरेको गुनासो गर्नुभयो ।

आमाको उपचारमा आउनु भएका माडीका शिव पाठकले अस्पतालभित्र एक सय रुपैयाँको औषधि किन्न ३० रुपैयाँको फोटोकपी गर्नुपर्ने बाध्यता रहेको भन्दै बीमाको औषधि पाउनै मुस्किल रहेको बताउनुभयो ।

उठेका प्रश्नहरुको जवाफ दिंदै अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले आवासका ३४ वटा कोठा खाली गरेको भन्दै अर्को हप्तासम्ममा बरिष्ठता र आवश्यकताका आधारमा वितरण गरिने बताउनुभयो । उहाँले त्यसपछि पनि कहाँ नेर कमजोरी भए हेरिने बताउनुभयो ।

मेसिनहरु समय समयमा बिग्रन गरेको भन्दै उहाँले भन्नुभयो “मेसिनरी हो बिग्रन्छ ।” नबिग्रीकन बिग्रेको भनेर बिरामी बाहिर नपठाईएको उहाँको दावी छ । सबैभन्दा बढी गुनासो कर्मचारीको बोली र व्यवहारमा आउने गरेको भन्दै उहाँले यसलाई सुधार्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले क्षमताभन्दा बढी बिरामी हुँदा चुस्त सेवा दिन नसकिएको भन्दै उहाँले भन्नुभयो “हामी क्षमता बढाउने तयारीमा छौं ।” प्रयोगशाला परीक्षणको रिपोर्ट लिन नयाँ मेसिन आजैबाट जडान गरिएको भन्दै उहाँले अब लामो लाईन बस्नु नपर्ने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, उपनिर्देशक डा। उमेश नेपाल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्यहरु, कर्मचारी, नर्स, डाक्टर लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

चितवन,माघ ११ ।

चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका वडा नं २ चौकीटोलबाट पक्राउ गरिएको थियो । विसं २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र विसं २०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानी मारेर खाग काटी लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो । ती घटनामा बोहोरासहित अन्य २४ जना प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् भने अन्य तीनजना फरार रहेका छन् । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको उहाँले बताउनुभयो ।

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा जारी रत्ननगर महोत्सवको एकै दिन ३६ हजार बढीले अबलोकन गरेका छन् । सोमबार माघे संक्रान्ति परेका कारण महोत्सव अबलोकनकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । महोत्सवमा अबलोकनकर्ताको भीड बढेपछि आयोजकलाई नियन्त्रण गर्न मुश्किल भएको थियो । पौष २६ गतेबाट महोत्सव सुुरु भएको हो । पहिलो दिन १० हजार, दोस्रो दिन १० हजार, तेस्रो दिन २८ गते १५ हजार, २९ गते १२ हजार र सोमबार एकै दिन ३६ हजारले महोत्सव अबलोकन गरेको संघका कोषाध्यक्ष तथा टिकट व्यवस्थापन समितिका संयोजक विनोद घिमिरेले जानकारी दिए । रत्ननगर महोत्सवको १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवको मुख्य आकर्षण कृषि परिसर, सांस्कृतिक घर र मोटरबोट रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक शंकर गिरीले बताए । यसैगरी महोत्सव अन्तर्गत पर्यटन विकासको लागि धार्मिक जिप सफारी सञ्चालन गरिएको छ । रत्ननगर नगरपालिका भित्र रहेका धार्मिक पर्यटकीय क्षेत्र प्रवर्द्धनको लागि धार्मिक जिप सफारी सुुुुरु गरिएको छ । रत्ननगर नगपालिकासंग सहकार्य गरी महोत्सव अन्तर्गतको पर्यटन प्रबर्द्बन समिति र पञ्चनदी जलाधार क्षेत्र संरक्षण समितिले सयुक्त रुपमा धार्मिक जिप सफारी सञ्चालन गरिएको संघका सदस्य तथा पर्यटन प्रबर्द्धन समितिका संयोजक नेत्र गिरीले जानकारी दिए । महोत्सवमा अबलोकनका लागि आएका दर्शकहरुलाई गायत्री हरिहर मन्दिर, चिसापानी त्रिवेणी धाम, आत्मशान्ति गुम्बा, पञ्चकन्या देवी मन्दिर, धर्मधाम जिरौनाको अबलोकन गराउदै धार्मिक महत्वबारे प्रकास पारिएको पञ्चनदी जलाधार क्षेत्र संरक्षण समितिका सचिव सुवास घिमिरेले जानकारी दिए । महोत्सव अन्तर्गत खगेरी खोलामा मोटर बोट सञ्चालन गरिएको छ। महोत्सवको अर्को आकर्षण कृषि परिसर हो । उक्त परिसरमा मकैको स्टाचु, माछापोखरी, च्याउनको टनेल निर्माण गरिएको छ । सोमबार चर्चित गायिका समीक्षा अधिकारी, गायक नेत्रजी पन्त, भूवन प्यासी सहितका कलाकारहरुले प्रस्तुति दिएका थिए । महोत्सव अन्तर्गत मंगलबार चर्चित हास्यकलाकार मनोज गजुरेल, गायक समर्पण लामा सहितका कलाकारहरुको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकाशमणि सापकोटाले जानकारी दिए । महोत्सव माघ ८ गते सम्म चल्नेछ ।

Subcategories